पार्टीको प्रदेश सम्मेलन छोडेर शोकसभातिर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको प्रदेश सम्मेलन छोडेर चितनको शोकसभामा सरिक हुन गएका छन् । कोइरालाले आफ्नै प्रदेशको सम्मेलन ‘बहिष्कार’ गरेको भनेर टिप्पणी भैरहेको छ । पार्टी कोशी प्रदेशको सम्मेलन आज शनिबार विराटनगरमा हुँदैछ ।

सम्मेलनमा सहभागी हुन सभापति शेरबहादुर देउवा शुक्रबार नै विराटनगर आइसकेका छन् । कोइराला भने चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

पार्टीभित्रको मर्यादाक्रमको विवादले असन्तुष्ट भएका कोइराला सम्मेलनमा सहभागी नभएको उनीनिकट स्रोतले जानकारी दिएको छ । मञ्चमा सभापतिपछिको वरीयतामा आफू हुनुपर्ने उनको माग भए पनि पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राख्ने तयारी भएपछि कोइराला प्रदेश सम्मेलनमा सहभागी नहुने भएका हुन् ।

नेता कृष्ण सिटौला नजिकका उद्धव थापा पार्टीको कोशी प्रदेश सभापति छन्। केन्द्रीय वरीयतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।

कोइराला शनिबार चितवनका पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने जनाइएको छ ।

मंसिर १८ गते कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएका थिए । विराटनगर आएका सभापति देउवाले भने उक्त भेलाबारे पत्रकारहरुले राखेको जिज्ञासामा कोइरालाको असन्तुष्टि बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया