विराटनगर । कांग्रेस नेता सशांक कोइरालाले पार्टीका नेताहरु गलत बाटोमा हिडेको बताएका छन् । शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु ठिक बाटोमा नहिँडेको बताएका हुन् ।
‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटि आफैँलाई निरीक्षण गरेर भनौं, हामी ठिक बाटोमा हिँडिरहेका छौं कि छैनौं, उनले भने, ‘मलाई त लाग्छ ठिक बाटोमा हिँडिरहेका छैनौं, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’
राजनीति गर्ने हो भने स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्ने बताउँदै उनले भने,‘ हामीले परको सोचौं, राष्टका लागि सोचौं ।’
कोइरालाले सम्मेलन छाड्दा दुःख: सिटौला
नेता कृष्णप्रसाद सिटौलाले नेता शेखर कोइरालाले प्रदेश समितिको पहिलो सम्मेलन बहिष्कार गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले शेखर कोइरालाले सम्मेलन छाड्दा दुःख लागेको बताए ।
‘पार्टीमा वृहत एकता चाहिन्छ, यसको विकल्प नै छैन, तर पार्टी एकताका नाममा हामीले हाम्रा कुरा राख्ने ठाउँमा नबसेर बाहिर गयो भने त्यसले झन समस्या हुन्छ,’ उनले भने ।
‘मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो, के कारणले छाड्नुपर्ने हामीलाई थाहा हुन्थ्यो, हामी निर्णयमा पुग्न सक्थ्यौं,’ उनले भने, ‘केन्द्रीय समितिमा राखे पनि हुन्छ । त्यहाँ छलफलको विषय बन्छ, विधानले समाधान दिने हो, कुरा के हो त प्रष्टसँग हामी सबैले थाहा पाउने गरी राख्नु उचित हुन्छ ।’
पार्टीमा सबैलाई ठाउँ चाहिन्छः गगन
महामन्त्री गगन थापाले पार्टीमा सबैलाई ठाउँ चाहिने बताएका छन् । उनले नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानु पर्ने बताए । कोशी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल््दै उनले यस्तो बताएका हुन् ।
‘पार्टीभित्र एकता अनिवार्य छ,सबैलाई मिलाएर लैजाने कुरा अनिवार्य छ,’ उनले भने, ‘पार्टीमा टेक्निकल कुरा गरेर मात्रै हुँदैन, राजनीतिक कुरा हो मिलाउनुपर्छ, सबैलाई मिलाउनुपर्छ, सबैलाई ठाउँ चाहिन्छ, सबैको मान चाहिन्छ, जित्ने हार्ने सबैलाई मिलाएर लैजानुपर्छ, किन कि हामी सबै खालका छौं नि त ।’
चुनावको विषयलाई लिएर झगडा गर्न नहुने बताउँदै उनले सबैलाई मिलाएर लैजानुपर्ने बताए । पार्टी भित्र विवाद पनि हुने बताउँदै उनले सबैलाई मिलाएर लैजाने विषय अनिवार्य रहेको बताए । ‘पार्टी भित्र सबै मिलाउ,’ उनले भने, ‘यो सम्मेलनपछि सबै एकताबद्ध भएर अघि बढ्छौं भन्ने विश्वास छ ।’
उनले डाक्टर शेखर कोइरालाले विराटनगरमा आयोजना गरेको गुट भेलाका विषयमा असन्तुष्टि जनाए । अन्य क्षेत्रमा भेला गर्न पाउने बताउँदै उनले पार्टीले संयोजन नगरी कार्यक्रम गर्न नहुने बताए ।
‘यसरी संयोजन नगरी गरियो भने भोलि विराटनगरको वडाले सबै वडा अध्यक्षको भेला गर्यो भने विराटनगर महानगर समितिले के भन्छ, मोरङको एउटा पालिकाको एउटा वडाले सबै मोरङका मान्छे बोलाउँछु जिल्ला सभापति बोलाउँदिन र सुनसरीको सभापति ल्याएर गर्छु भन्यो भने त्यो गर्न पाइन्छ भन्ने कि पाइँदैन ?’ उनले भने, ‘केन्द्रीय कार्यालयले भनेको त्यति मात्रै हो ।’
उनले पार्टीका नेताले मिसन २०८४ को बहाना आवश्यक नरहेको बताए । उनले पार्टी सरकारमा रहेकाले अहिलेदेखि नै काम गुर्नपर्ने बताए । ‘पार्टी एकातिर सरकार एकातिर भएर होइन, एकीकृत भएर जनतासम्म जान सक्यौं भने ०८४ आफैं हाम्रो पोल्टामा आउँछ,’ उनले भने,‘ ८४–८४ भन्दै भन्दै कराएर आउँदैन । नागरिकको मन जित्न सक्यो भने ०८४ आउँछ ।’
प्रतिक्रिया