काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताहरूको प्रमाणपत्र वितरण कार्यक्रममा उनले सबैको अथक प्रयासमा न्यायालय लयमा फर्किएको बताउँदै यसलाई अझै गरिमामय बनाउनुपर्ने बताए ।
उनले भने, ‘तपाई हाम्रो अथक प्रयासमा न्यायालय लयमा फर्किएको छ । यसमा नै चित्त बुझाउने हो कि न्यायालयलाई थप गरिमामय पनि बनाउने हो । यो आफैं बन्न सक्दैन । जिम्मेवारी हाम्रो काँधमा छ । हामी त्यसतर्फ अघि बढेका छौं कि छैनौं ध्यान दिनुपर्छ ।’
यस्तै, कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताहरूले वरिष्ठको हैसियत कायम गर्न नसकेको बताए ।
उनले भने, ‘वरिष्ठ अधिवक्ताहरूलाई कानूनले के भन्छभने अर्ध न्यायीक निकायमा जान पाईदैँन भनेर भनेको छ । तर कानूनको परिचालन कति गरेका छौ । सर्वोच्च अदालतमा विचराधिन मुद्दाहरुमा कतिपय अर्धन्यायीक निकायबाट गरेका निर्णयहरुमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेको उल्लेख भएर आउने गरेको छ । वरिष्ठ अधिवक्ताहरूको नाम नै आएको हुन्छ । मलपोतमा गएको वा कुनै निकायमा गएको देखिन्छ । वरिष्ठहरूले वरिष्ठको हैसियत कायम गरेका छौ भनेर मान्न मिल्छ र ? आफंैले उल्लघंन गरेको देखिन्छ ।’
यस्तै, उनले एक्लै सबै ठाउँ जाने र सबै काम गर्ने मान्छे वरिष्ठको लागि योग्य नभएको भन्दै सबै कुराको अवस्था क्रमश अन्त्य गर्दै जानुपर्ने बताए ।
उनले भने, ‘एकजना मात्र लुखुरलुखुर कानूनको फर्म चलाएर बसेको छ भने त्यो व्यक्ति वरिष्ठको लागि योग्य हुँदैन रहेछ । जब उसँग टिम छ, त्यसपछि मात्र वरिष्ठ हुन्छ । मुद्दा ड्राफ्टिङ् आफैं गर्ने, अदालत आफैं जाने, सबै कार्यालयमा आफैं जाने अनि वरिष्ठ अधिवक्ता पनि हुने यो सबै कुराको अवस्था क्रमश अन्त्य गर्दै जानुपर्छ ।’
प्रतिक्रिया