चलचित्र ‘बम बहादुर’ को दार्जिलिङमा प्रिमियर

काठमाडौँ। नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ। सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस चलचित्रको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रहेको छ।

ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको थियो। सो प्रिमियरमा चलचित्र निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो। 

अन्य चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिएनन्। अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ। 

चलचित्रले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ।

चलचित्रका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले चलचित्रलाई प्रभावकारी बनाएको प्रिमियरमा चलचित्र हेरेका दर्शकले बताए। यसको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिए।

कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै चलचित्रको प्राविधिक पक्ष पनि विशेष प्रशंसा पाएको छ। दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले चलचित्रलाई थप सुन्दर बनाएको प्रतिक्रिया प्राप्त छ।
 

प्रतिक्रिया