काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेको बताएका छन्।
मंगरबार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए।
उनले भने, “मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तीका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेका छन्। सरकारले दिगो विकासको लक्ष्य २०१५, २०३० ले परिकल्पना गरेको कोही पनि पछाडि नपरोस भन्ने मूल मर्मका साथ जनता, पृथ्वी, शान्ति र साझेदारी समृद्धिको लागि समान न्यायपूर्ण एवम सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरि तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको छ।”
यस्तै, उनले आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लाने पनि बताए।
उनले भने, “राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्ने कुरा सरकारले गम्भीरताका साथ लिएको छ। आयोगको भवन निर्माण कार्य ढिलाई भएको छ। आगामी वर्ष यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु। आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लगिने छ।”
उनले स्वतन्त्रता, समानता र मर्यादित जीवनको लागि मानविय जीवनका आयामहरुको बृहत र सुक्ष्म अध्ययन आवश्यक भएको भन्दै त्यसको लागि मानव अधिकार आयोगमैत्री विकासको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए।
उनले आयोगको सशक्तिकरणका लागि यसको भूमिका प्रभावकारी बनाउनका लागि नेपाल सरकार सधैँ साथमा छ र साथ रहिरहने छ भन्ने विश्वास पनि दिलाएका छन्।
प्रतिक्रिया