काठमाडौँ। नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी), जलवायु अनुकूल परिदृश्य र जीवनयापनका लागि सहुलियतपूर्ण ऋण साथै अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु प्रतिरोधी परिदृश्य र जीविका परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब एनपीआर बराबर) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा.रामप्रसाद घिमिरे र अर्नाउडले हस्ताक्षर गरेका हुन्।
आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागू हुने गरी १ लाख २१ हजारभन्दा बढी किसान लाभानि्वत हुने मन्त्रालयले जनाएको छ। परियोजनाको प्राथमिक उद्देश्यहरू कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पु¥याउनु रहेको मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी सीएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरे।
यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापन मार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउने मन्त्रालयले जनाएको छ।
परियोजनाले दिगो जल व्यवस्थापन, कृषि वन, सिल्भिकल्चर र वन व्यवस्थापनमा ध्यान केन्द्रित गरी जलवायु चुनौतीहरूसँग अनुकूलन गर्न समुदायहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ।
परियोजनाले पानी सुरक्षा सुधार गर्न र जलवायु–प्रेरित चुनौतिहरूको लागि यस क्षेत्रको जोखिमलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।
प्रतिक्रिया