काठमाडौँसँग हारेपछि प्रतियोगिताबाट बाहिरियो लुम्बिनी

काठमाडौँ। लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ। 

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो। जितसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ। 

बलर जमेको दिन लुम्बिनीले जितमा लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याएपनि सफल हुन सकेन। लुम्बिनी १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो। 

काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कस्तान करण केसीले चार विकेट लिए। उनि पुरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए। यस्तै दिपेश कडेलले तीन तथा जेराल्ड इराससम दुई र रसिद खानले एक विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो। काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए।

डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए। बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए। यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए। काठमाडौँको यो दोस्रो जित हो।

जितसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ। काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ। ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोडेदै बाहिरिएको छ। लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ। 

लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ। बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो। सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ। पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमश: तेस्रो र चौथो स्थानमा छ।

प्रतिक्रिया