काठमाडौं । नेपाली कांग्रेसले भर्खरै कोशी प्रदेशस्तरीय सम्मेलन आयोजना गरेको छ। सम्मेलन सम्पन्न भएर सहभागी नेताकार्यकर्ताहरु गाउँघर फर्किसकेका छन्। गाउँफर्किएका नेतासँग सम्मेलनमा के के भयो भनेर स्थानीय नेता कार्यकर्ताहरुले प्रश्न गरेका छन्, गर्ने नै भए। प्रश्नहरु एकपछि अर्को गरेर धेरै उठेका पनि छन् तर उनीहरुसँग ती प्रश्नको जवाफ दिने ठोस बिषय नै छैन। जब प्रश्नहरु थपिँदै गएका छन् अब उनीहरुलाई पनि लाग्न थाल्यो कि सम्मेलनले गर्यो चैं के त?
सम्मेलन आयोजक कोशी प्रदेश समितिका सभापति उध्दव थापाका अनुसार, ‘सगरमाथा अभियान’ नामको कार्यक्रम सञ्चालन गर्ने र ओखलढुंगामा समापन गर्ने एउटा मुख्य प्रस्ताव अनुमोदन भएको छ। यसबाहेक अरु खास प्रस्ताव पारित नभएको र समसामयिक राजनीतिमाथि विमर्श मात्र भएको थियो।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र एमाले संघीय सरकारको समीकरण परिवर्तन हुँदैपिच्छे सत्तामा आउनेजाने गरिरहेका छन्। अहिले एमाले कोशी प्रदेश सरकारको नेतृत्वमा छ भने नेपाली कांग्रेस प्रमुख विपक्षमा।
सत्तारुढ दलको प्रदेश सम्मेलनसँग नेपाली कांग्रेस समर्थकको मात्र होइन कांग्रेस इतर पक्षहरुको समेत अपेक्षाहरु हुनसक्थे। कृषि, पर्यटन, उद्योग व्यवसाय र कतिपय लहडबाजीमा भएका फजुलखर्चहरुमाथि सम्मेलनमा जमेर छलफल हुने अपेक्षा गरिएको थियो भने त्यो जायज कुरा थियो। तर त्यस्तो भएन। कोशी प्रदेश कृषि, पर्यटन, उद्योगव्यवसाय र अरु अनेक व्यापारिक क्रियाकलापको लागि महत्वपूर्ण क्षेत्र मानिन्छ। कृषि उपजका चिया, अलैंची, दुग्ध उत्पादन लगायतको बजार अनिश्चितताले पीडित रहँदै आएका किसानले यस्ता बिषयमा देशकै ठूलो दलले केन्द्रिय नेतृत्वको उपस्थितिमा गहन छलफल गरेर समाधानको उपायहरु खोजी गर्ला भन्ने अपेक्षा भने कांग्रेस नेतृत्वका सोचविचार भन्दा निकै टाढा छुटेको देखियो।
कसैले यस्ता बिषयहरुमाथि छलफल गर्नुपर्छ भन्ने सोच्दा पनि सोचेन र नसोचेको बिषयमा कुनै प्रस्ताव पनि तयार गरिएन।
बचकना विवाद
बरु नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनको मुख्य आकर्षक बिषय रह्यो पार्टी नेतृत्वको वरियताक्रमको विवाद। को भन्दा को ठूलो भन्ने अहंकारको लडाईंले बिराटनगरको सम्मेलनस्थलको धुलो उडाएर त्यसक्षेत्रको आकाश नै प्रदुषित गरिदियो।
सभापति शेर बहादुर देउवा मुख्य अतिथि रहेको सम्मेलनमा उनीसँग निकटतम प्रतिष्पर्धा गरेका नेता शेखर कोइराला सहभागी भएनन्। तीनदिन अघि पाएको लिखित निमन्त्रणालाई वरियताको प्रश्नसँग जोडेर शेखर सम्मेलनमा सहभागी भएनन्। उनी चितवनमा शोक परेको परिचितको निवासमा समवेदना दिन गए। कोइराला निवास पुगेका सभापति देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका कान्छा पुत्र शशांक उपस्थित थिए। देउवा र कोइरालाले वीपीको तस्बिरमुनी बसेर चियागफ गरे। तर घरमुली शेखर त्यतिखेर त्यहाँ थिएनन्।
शेखरले पार्टीमा आफ्नो मर्यादा अनुसारको वरियता निर्धारणको माग गर्दै आएका छन्। त्यसको छिनोफानो भएको छैन। सभापति देउवाले कोइरालाको यो मागलाई राजनीतिक सौदाबाजीको बिषय बनाएको देखिन्छ। यही बिषय नै प्रदेश सम्मेलनमा शेखरको अनुपस्थितिको मुख्य कारण थियो।
शेखरमाथि मैदान छोडेको आरोप
के वरियताकै निहुँमा शेखरले बिराटनगरमा बस्नै नहुने र बिराटनगर छाडेर अन्यत्रै जानुपर्ने परिस्थिति थियो त भनेर उनकै समर्थक र फरक राजनीतिक विचार बोकेका मानिसहरुवीच समेत चर्चा चलिरहेको पाईन्छ।
चित्त दुखेर मन मानेको थिएन भने पनि शेखरले बिराटनगरमै बस्नुपथ्र्यो र सभापतिलाई निवासमा स्वागत गनुपथ्र्यो भन्ने मत बलियो गरी स्थापित भैरहेको देखिन्छ। यस्तो मत राख्नेमा शेखरकै निकट नेता कार्यकर्ता बढी देखिन्छन्। सम्मेलनका दिन बिराटनगरबाट अन्यत्र पलायन भएर शेखरले राजनीतिक अपरिपक्वता प्रदर्शन गरेको भनेर आलोचना भैरहेको छ जसलाई शान्त पार्न उनले निकै मेहनत गर्नुपर्ने देखिन्छ।
नेपाली कांग्रेसको स्थापनाकालदेखि नै यस्ता विवादहरु उठ्ने गरेको पाईन्छ, जसले पार्टीको उर्जा खर्च गरेर अनावश्यक झमेला खडा गर्ने र विपक्षसँग प्रतिष्पर्धा गर्ने समय खेर फालेको पाईन्छ। संस्थापक नेता वीपी र उनकै दाजु मातृका प्रसादवीच भएको विवाद नेपाली कांग्रेसको हरेक पुस्तामा बहसको बिषय बन्दै आएको छ। यो विवादले विस्तारै नेपाली कांग्रेसको साख र प्रभाव कमजोर पार्दै पार्टीलाई नै निम्छरो बनाउने अवस्था स्वयं नेतृत्व वर्गबाटै निर्माण भैरहेको देखिन्छ। नेता शेखर कोइरालाको दुखेको चित्तमा मल्ह्म लगाउन सभापति देउवाले चासो नदेखाउँदा पार्टीभित्र हुर्किँदै गरेको असन्तोषको बिरुवा झाँगिदै जाने देखिन्छ।
शीर्ष नेतृत्वमा विद्यमान विवादको निप्टारा नभएसम्म कुनै पनि सम्मेलनले जनजीवनका जल्दाबल्दा बिषयमा छलफल, चिन्तनमनन र निर्णहरु गर्न सक्नेछैनन्। जब सम्मेलनहरु आन्तरिक गन्थनमै समापन हुन्छन् भने सहभागीहरुले गाउँघर फर्केपछि आफ्ना सहकर्मीसामु सदैव जवाफहीन भैरहनुपर्ने छ।
प्रतिक्रिया