विशेष अन्तर्वार्ता

‘बेटिङ्ग ल्याउने भए कानून चाहिन्छ’ पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल

काठमाडौं। हाल जारी नेपाल प्रिमियम लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा गरिएको आर्थिक लगानी नीतिनियम विपरित रहेको भए भविष्यमा त्यो देशकै लागि सुरक्षा चुनौति हुने नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्बेन्द्र खनालले बताएका छन् ।   

हाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपिएल प्रतियोगितामा बेटिङ्ग कम्पनीले गरेको स्पोन्सर कुनै वैधानिक प्रक्रियाबिना नै आएको भनेर सर्वत्र आलोचना भइरहेको छ। यसै सन्दर्भमा विभिन्न सुरक्षाविज्ञहरुले समेत यस्तो व्यक्तिगत तहमा हुने मनपरी लगानीले देशकै लागि सुरक्षा चुनौति उत्पन्न हुनसक्ने भनेर चिन्ता व्यक्त गरेका छन् । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्यमुख्य खेलाडीले म्याचफिक्सिङ्ग गरेको घटनाको अनुसन्धान गरेर कानूनी कार्बाहीको दायरामा ल्याउन सफल खनाल एनपिएलमा भएको लगानीसँग सतर्क हुनुपर्ने सुझाव दिन्छन्। चर्को राजनीतिक दवाव झेलेर पनि म्याचफिक्सिङ्गमा संलग्न खेलाडीमाथि कार्बाही गर्न सफल भएका पूर्व महानिरीक्षक खनालको अडानले सरकार कानून बनाउन वाध्य भएको थियो। 

खनाल भन्छन्, ‘भर्खर भर्खर अघि बढ्दै गरेको क्रिकेट खेललाई जोगाउन पनि स्पोन्सर आउने वैधानिक बाटो आवश्यक छ, व्यक्तिगत तवरमा जथाभावी लगानी भित्रिन पायो भने त्यो भविष्यका लागि पनि राम्रो हुने छैन।’

‘इन्डियन प्रिमियर लिग (आइपीएल) ले पनि कानून बनाएर स्पोन्सर लिने भनिरहेको छ भने गरीवीको चपेटामा परेको देशका खेलाडीलाई सुविधा दिने नाउँमा यसरी अनियन्त्रित रुपमा गयो भने विग्रन्छ,’ खनालले भने।

फुटबलमा भएको म्याचफिक्सिङ्गको कानूनी उपचार भैरहँदा नेपाल क्रिकेट संघका पदाधिकारीले आफूसँग भेटेर क्रिकेटमा पनि सुधारको आवश्यकता भएको बताएको पूर्व महानिरीक्षक खनालले सुनाए।

इन्टरभ्यू हेर्न तलको लिंक प्रयोग गर्नुहोलाः   https://www.youtube.com/watch?v=jkMo_q1MkW8
 

प्रतिक्रिया