पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा

काठमाडौँ। सुदूरपश्चिम रोयल्स् नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो।

जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ। 

सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो।

पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे। उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। गौस ठूलो सटको प्रयास गर्दा सेफ अलि जेबको बलमा आरिफ शेखबाट समातिए। अन्तिम ओभरमा पोखरालाई जितका लागि ७ रन आवश्यक रहेको थियो। सुदूरपश्चिमका लागि स्कट कुगेलेनले १ रन मात्र खर्चिएर टोलीलाई रोमाञ्चक जित दिलाए।

पहिलो ओभरको अन्तिम बलमा दिनेश खरेलले जीवनदान पाएका थिए। हर्मित सिंहको बलमा स्कट कुगेलेनले उनको क्याच ड्रप गरेका थिए। उनले त्यससमय ४ बलमा ४ रन बनाएका थिए। थप ११ रन जोडेर दिनेश स्कट कुगेलेनको बलमा नरेश बुढाऐरबाट समातिए।

दिनेश आउट भएको ओभरमा कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली स्कटकै बलमा आउट भए  त्यसपछि क्रिजमा आएका दिलिप नाथ ४ बलमा १ रन बनाउँदै कुगेलेनको बलमा आउट भए। एघारौं ओभरको पहिलो बलमा जेन मल्लिक १५ बलमा १० रन बनाउँदै आउट भए। मल्लिकलाई हर्मित सिंहको बलमा विकेट किपर विनोद भन्डारीले स्टपीङ गरे।

छैठौं विकेटका लागि किरण ठगुन्ना र रेमन राइफरले ७० रनको साझेदारी गरे। राइफरले २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे। राइफर ठुलो सटको प्रयासमा बाउन्ड्रीमा नरेन साउदबाट समातिए। सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। हर्मित सिंहले ३ तथा सेफ अलि जेबले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे। उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए।

१८.१ ओभरमा क्रिजमा रहेका इशान पाण्डे रिटायर्ट आउट हुँदै स्कट कुगेलेन क्रिजमा आएका थिए। इशान ११ बलमा १० रन जोड्दै रिटार्यट आउट भएका थिए। एनपिएलमा इशान रिटायर्ट आउट हुने पहिलो खेलाडी हुन्।

कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे। उनी सागरबाट एलबिडब्लु भए। विनोद भन्डारी १४ रन जोड्दै कप्तान कुशलको बलमा नै आउट भए। हर्मित सिंहले १३ रन जोड्दै माइकल लिस्कको बलमा आउट भए।

पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ विकेट लिए।

सुदूरपश्चिम यो खेलमा जितका साथ शीर्ष स्थानमा उक्लिदै प्लेअफ प्रवेश गर्ने दोस्रो टोली बन्न चाहन्छ। जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो। समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णालीको सामना गर्नेछ। सोमबार लिगमा एकमात्र खेल हुनेछ। 
 

प्रतिक्रिया