काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा पर्ने बताएका छन्।
सोमबार ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिन नहुने बताएका हुन्।
उनले भने, “राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ। तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहयकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ, विगतमा हामी सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो। अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ।”
साथै, उनले एमाले र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताए। उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।
प्रतिक्रिया