लामो समयको अन्तरालमा काठमाडौं गएको थिएँ। अर्को दिन बिहानै पिएल दाईलाई भेट्न चाक्सीबारी पुगेको थिएँ। तुरून्तै भेट्न पाएँ र सोधें, तपाईंलाई कस्तो छ?
केही महिना देखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कंदै गरेको लाग्यो। स्वर पुरानै थियो। “फिल मच बेटर। तर, अत्यधिक थकाईको अनुभव र रोगले जन्माएको खाना प्रतिको बेस्वादले दिक्दार लागेको छ।” पिएल दाईले मलाई बडो अपनत्वका साथ आफुसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ।
त्यस दिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौं। पिएल दाईको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नु हुन्थ्यो। फेरी गफिंदै हामी बालाजु, सोर्हखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, ईन्द्रचोक हुँदै न्यूरोड गेटसम्म आईपुगेका थियौं। हिंडाई लामो भएको थियो। बिसं २०४०/४१ सालतिरको त्यस हिंडाईमा पिएल दाईले बडो बिस्तारका साथ गणेशमानजीको विचार निर्माणको पध्दतिका बारेमा केही कुरा बताउनु भएको थियो। र, बिपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानको लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैली बारे हाँस्दै भन्नुभा’थ्यो पिएल दाईले- त्यो के “ह्याण्डल वीथ केयर” भन्छन् नि, हो! बिपीको तेही शैली अहिले चाहिन्छ गणेशमानजीलाई डिल गर्न बुझ्यौ?
बिसं २०४२ सालमा नेपाली काँग्रेसले पंचायती व्यवस्थाको बिरूध्द शुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो काँग्रेसको नेतृत्वमा। गणेशमानजी र गिरिजा बाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठूलो मतभिन्नता झाँगिईदै गएको देखिन्थ्यो। राजाले केही दाउ खेलेका थिए। कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजा बाबु एकाध पटक राजा बीरेन्द्रलाई भेट्नु भएको थियो। गणेशमानजीलाई यो मन परेको थिएन। यसले गर्दा सत्याग्रह तर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो। तर, गिरिजा बाबुको विचार भिन्नै थियो। उहाँलाई लागेको थियो, पंचायत बिरूध्दको लामो संघर्षले साथीहरूमा थकाई पनि छ। केही साथीहरू पंचायततिर लागे पनि। राजासँगको यस्तो भेटले नेपाली काँग्रेसको ‘रिकगनाईजेशन’ बढ्ने छ।
शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन्छाउन नसक्ने एक पक्ष रहेछौं भन्ने धारणा स्थापित पनि हुन्छ। यसरी सोच्नु हुन्थ्यो गिरिजा बाबु। अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नु भएको थियो। बिद्युत महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै बेहोराको निवेदनमा आम जनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजा बाबुको। तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन। पंचहरू तथा कम्युनिष्टहरूले यसलाई “बिन्तीपत्रको राजनीति” भनेर प्रचार गरिरहेको थिए। आन्दोलनको लागि काँग्रेसको बढ्दै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमानजीको ईगोले हम्मेसी स्वीकार्ने बिषय थिएन। यसलाई पंच र कम्युनिष्टहरूले खुब हौस्याएका थिए। पुरै काँग्रेस वृत यसबाट चिन्तित थियो। गणेशमानजी र गिरिजा बाबुका बीच विचारको बुझबुझारथ हुनु पर्ने सबैको चासो थियो। पार्टी भित्र पिएल दाई र शैलजा दिदी- यी दुईजना मात्र थिए जो दुबै नेताका बीच सहज सम्वादलाई बढाउने सामर्थ्य राख्द्थ्यो। म यही बारेको केही कुरा गर्न त्यसबेला पिएल दाईलाई भेट्न गएको थिएँ।
हेर जेपी उहाँ गणेशमान त हो। सबैले कहाँ सम्हाल्न सक्छन र! यसैले त मैले “ह्याण्डल विथ केयर” भनेको हुँ। पिएल दाईले नेपाली काँग्रेसको बीरगंज अधिवेशनको कुरो सुनाउनु भयो। बीरगंज अधिवेशनमा पार्टीका धेरै ठूला नेताहरूको सभापतिमा सुवर्ण शम्सेरलाई समर्थन थियो। गणेशमानजीले सुवर्ण शम्सेरलाई सभापति बनाउन चाहनु भएको थिएन। गणेशमानजीले सुवर्णजीको बिरूध्द कुनै बलियो उम्मेदवार पाउनु भएको थिएन। बिपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नु भएको थियो। यो पनि गणेशमानजीलाई मन परेको थिएन। बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनु भयो भने उहाँलाई ठूलो धक्का लाग्नेछ। पैसा र धनका धनीको काँग्रेस भयो। मेरो त्यागको कुनै मान्यता भएन भने कुराले गणेशमानजीलाई बडो दुःखी तुल्याउने छ। यो ठूलो चिन्ता थियो बिपीलाई। अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना बिश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अर्हाउनु भएको थियो। शायद बिसं २०१२ सालतिरको कुरो हो यो। पिएल दाईले पाउँपैदल हिँडिरहेको मलाई सोध्नु भएको थियो- ल भन जेपी, आज काँग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्याण्डल गर्ने?
काँग्रेस भित्रको त्यस समस्याको त्यसबेला समाधान भयो। सबैले सत्याग्रहलाई बढाए। राजा समक्ष निवेदन पनि दिईयो। राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले लाखौं जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन्। राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाईयो।
अन्ततः गणेशमानजी काँग्रेस छोड्नु भयो। उहाँको देहावसान भयो। चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाईँदा र त्यस महायात्रमा हिँड्दा मलाई लागेको थियो-गणेशमानजीको मृत्यूलाई त किमार्थ पन्छाउन सकिन्नथ्यो। तर, यदि त्यस दिन पिएल दाईले भन्नुभएअनुसार बिपीले गणेशमानजीलाई सम्हाल्ने गरे जस्तै त्यस बेलाका नेताहरूले सम्हालि दिएको भए पशुपतिसम्मको गणेशमानजीको यात्रा अझ महान हुने थियो।
त्यसदिन रूग्ण पिएल दाईसँगै उहाँको सानिध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेर आयो।
पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन यसबीच पिएल दाईले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो। उनि मैले गहिएर उहाँलाई हेरें। आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाई बातबातमा मेरो नाम लिनुपर्दा जेपी आनन्द बोल्नु हुन्थ्यो। यो नयाँ कुरा थिएन। तर यसले मेरो उहाँसँगको लामो सम्बन्धको झल्को दिन्थ्यो। अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन्।
धेरैबेर कुरा भयो। मेरो गाउँको घर पनि पुगेको संझना आयो उहाँलाई। एकसरो धेरै कुराहरू सुनाउनु भयो। सबैभन्दा बढी याद आईरहेको छ, पिएल दाईले भनेको- जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु!”
शायद उहाँले यो कुरो म भित्रको मलाई भन्नुभएको थियो। लगभग बर्ष दिन पहिले, शायद ९ असोज २०८० को कुरो हो यो।
म फेरीपनि लेख्नेछु पिएल दाई प्रेमलाल सिंहको बारेमा सोचेको थिएँ। आज उहाँको देहावसानको समाचार सुने। शान्तिका साथ त्यहाँ रहनु हुनेछ पिएल दाई! (जेपी आनन्द अर्थात् जयप्रकाश गुप्ताको संस्मरण)
प्रतिक्रिया