महिला एसिया कप: नेपाल र भारतले अंक बाँडे

काठमाडौँ। मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अंक बाँडेको छ। भारतसँग अंक बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारत र नेपालको समान तीनतीन अंक भए पनि नेपाल तालिकाको शीर्ष स्थानमा छ।

समूह चरणको दोस्रो खेलमा मंगलबार नेपालले भारतसँग अंक बाँडेको हो। खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अंक बाँडेका हुन्। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो। नेपालले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा २५ रन बनाईन्। एलिसा यादवले मात्र ९ बलमा २० रन जोडिन्। अन्य कुनै पनि ब्याट्सम्यानले दोरहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि परुनिका सिसोदियाले चार विकट लिँदा अनन्दिता किशोर र मिथिला विनोदले एकएकविकेट हात पारे।

९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा रहेको भारतले ३.१ ओभरमा बिना विकेट २८ रन बनाएको थियो। त्यही समयमा हावाहुलीले खेल सञ्चालन हुन नसकेपछि दुई देशले अंक बाँडेका हुन्।

समूह चरणको पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ। पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो।

समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो।

प्रतिक्रिया