काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैंयाँ बराबरको नाफा आर्जन गरेको छ।
गत साउनदेखि असोज मसान्तसम्म ब्याज र अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैंयाँ रहेको र ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च भएको प्राधिकरणले जनाएको छ।
यस अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैंयाँ बराबरको सञ्चालन सम्भार खर्च गरेको छ भने विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको जनाएको छ।
प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ भने २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी त्यसका लागि गरिएको प्राधिकरणका प्रवक्ताले जानकारी दिएका छन्।
प्राधिकरणका अनुसार, गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन। असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु परेको छैन। त्यसअवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ रुपैंयाँ बराबरको आम्दानी गरेको छ।
नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैंयाँ बराबर खर्च भएको छ भने विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो। त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैंले खर्च गरेको छ । त्यसैगरी वैदेशिक भुक्तानीतर्फ छ अर्ब पाँच करोड ५३ लाख १७ करोड रुपैंयाँ छ।
प्रतिक्रिया