एनपीएलमा कर्णालीसँग हारेसँगै बाहिरियो चितवन

काठमाडौँ। सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

बुधवार भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। 

कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन्।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। प्रतियोगिताको तेस्रो अर्धशतक उनले ३२ बलमा पुरा गरे। अर्धशतक बनाएका बोपारा नन्दन यादवको बलमा गुलशन झाबाट समातिए।

कप्तान कुशल मल्लले २४ बलमा १ छक्काको सहयोगमा २१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए। ल्युक बेनकिस्टेन १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन जोडे। उनी जिशान मक्शुदबाट बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा विपिन रावल १० बलमा ४ चौकाको सहयोगमा १८ रनमा जोड्दै आउट भएका थिए। विपिन सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए।

पहिलो ओभरको पाँचौ बलमा हसन इसाखिल १ रन जोड्दै आउट भए। इसाखिल कर्णालीका कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिएका थिए। सन्तोष कार्की ८, अमरसिंह राउटेला ९ तथा सोहेल तन्भिर ४ रनमा आउट भए। शरद भेषवाकर १० रनमा नट आउट रहे।
कर्णालीका लागि जिशान मक्शुदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए।

त्यसअघि टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो।

कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए।

विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे। एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे। अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए। उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए।

चल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे। देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए। दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन्। इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए।

जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे। मक्शुद शरद भेषवाकरको बलमा रञ्‍जित कुमारबाट क्याच भए। शरदको प्रतियोगितामा यो पहिलो विकेट हो।

चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए। लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो। 
 

प्रतिक्रिया