काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति यतिबेला विवादमा परेको छ। प्रतिपक्षी दलको भागमा पर्दैआएको यो समिति सत्तारुढ दलकै सांसदको नेतृत्वमा क्रियाशील छ। सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद ऋषिकेश पोखरेल यो समितिको सभापति छन्।
एउटा विवादको बिषय यो हो। विवादको अर्को पक्ष पनि छ, जुन आर्थिक अनियमिततासँग जोडिएको छ। सभापति पोखरेल र उनकी पत्नी अञ्जला कोइराला सहकारीको वचत अपचलनको आरोप खेपिरहेका छन्। जसको न्यायिक निरुपण हुन बाँकी नै छ।
यसरी दुइवटा विवादको चेपुवामा परेको समिति आफैं नैतिक संकट बेहोरिरहेको छ। यो समिति सरकारी सन्यन्त्रहरुमा हुने आर्थिक र नीतिगत अनियमितताको अध्ययन गरी कार्बाहीको सिफारिस गर्ने अधिकार भएको महत्वपूर्ण संसदीय निकाय हो। तर नेतृत्व नै नैतिक प्रश्नको घेरामा परिरहेको अवस्थामा बसेको समितिको बैठक आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्नुभन्दा पनि तिनै प्रसंगमा चर्चा गरेर समय व्यतित गरिरहेको छ।
आज सोमबार सिंहदरबारमा बसेको लेखा समितिको बैठक भने बेग्लै चर्चामा अल्झियो। बैठकमा सहभागी धेरै सदस्यले सभापति पोखरेलको राजीनामा मागे भने कतिले उनकी श्रीमती अञ्जला कोइरालाको संग्नतामाथि प्रश्न गरेर सभापतिलाई रातोपिरो बनाईदिए।
सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन्। कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ। आश्चर्य छ कि उनी फरार भएकी छिन्।
कोइराला फरार भएको चर्चा गर्दै एमालेकै सांसद योगेश भट्टराईले सभापति पोखरेलपत्नी कोइराला अदालतमा उपस्थित हुनुपर्ने माग गरे। यसलाई प्रतिपक्षी सांसदको विरोध मत्थर पार्ने रणनीति भनेर टिप्पणी पनि गरिएको छ।
'सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन्। अदालतमा उपस्थित हुँदा राम्रो हुन्छ' भनेर योगेशले विरोधको भाषा आफैं बोलिदिएका थिए। उनले लेखा समिति 'सुशासन र चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकाले आर्थिक रूपमा प्रष्ट हुनुपर्ने भन्दै 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रष्ट बनाइदिनुस् भने।'
प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलकै राजीनामा मागे। प्रतिनिधि सभाको लेखा समिति प्रमुख प्रतिपक्षले लिने अभ्यास रहेको सम्झाउँदै सांसद मोदीले सभापति पोखरेलको राजीनामा मागे।
'चेक एन्ड ब्यालेन्स'को कुरा छ। लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ। तपाईं आफैँ सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ। सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ। यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ,’ उनले भने।
सांसदहरुका भनाई सुनिसकेपछि सभापति पोखरेलको जवाफ थियो, 'म जुनसुकै परीक्षामा बस्न तयार छु।'
उनले भने 'मेरो विषयमा कुरा उठ्यो। कानुनी प्रक्रियामा छ। म जुनसुकै परीक्षामा बस्न तयार छु। म कानुनमा विश्वास गर्छु। प्रक्रियाअनुसार अगाडि जाला,'उनले भने।
प्रतिक्रिया