कजाकिस्तानमा विमान दुर्घटना, ३८ जनाको मृत्यु

अस्ताना। बुधबार दिउँसो करिब १२ः३० बजे कजाकिस्तानको अक्ताउमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको हो। समाचार एजेन्सी एपीका अनुसार दुर्घटनामा ३८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटना भएको करिब १० घण्टापछि राति ९:३० बजे कजाकका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेका छन्।

रिपोर्टका अनुसार विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए। विमान अजरबैजानबाट रुसको चेचन्या प्रान्तको राजधानी ग्रोज्नीतर्फ गइरहेको थियो तर कजाकको अक्ताउ सहरबाट करिब ३ किलोमिटर टाढा आपतकालीन अवतरण गर्नुपरेको थियो। यस क्रममा विमान दुर्घटनाग्रस्त भएर दुई टुक्रा भयो, त्यसपछि त्यसमा आगो लाग्यो।

बाक्लो हुस्सुका कारण उडानको रुट परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ। विमान दुर्घटना हुनुअघि विमानस्थलको धेरै चक्कर लगाएको थियो। पाइलटले आकस्मिक अवतरणका लागि अनुमति पनि मागेका थिए। तर, पछि उनलाई विमानस्थल नजिकैको समुन्द्री किनारमा आपतकालीन अवतरण गराउन बाध्य पारिएको थियो।

दुर्घटनाग्रस्त विमान अजरबैजान एयरलाइन्सको एम्ब्रेर १९० मोडलको विमान थियो। कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार दुर्घटनास्थलमा ५२ उद्धार टोली र ११ उद्धार उपकरण पठाइएको छ।

प्रतिक्रिया