इटा उद्योग बन्द गरिहाल्न सकिदैन, संचालनमा अनेक कठिनाइ छन्: नातिभाइ ह्योम्वा

काठमाडौँ। इटाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन्। वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इटाभट्टामा इटा पोल्न आगो लगाउने तयारी गरेका हुन्। व्यवसायीले करिब पाँच महिना निरन्तर इटा पोल्ने बताएका छन्। यसै सिलसिलामा २०४६ सालदेखि इटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इटा पोल्ने कामको तयारी भइरहेको बताए। भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्ष समेत रहेका ह्योम्वासँग नेपाल न्यूज बैंकले उद्योगका समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश:

काँचो इटाको तयारीदेखि कारखानासम्म निर्माणको प्रक्रिया कसरी गरिन्छ ?  

सुरुमा हामीले इटालाई जम्मा गरेर राखेका हुन्छौ। त्यसलाई मेशिनले पेल्छौं। त्यो पेलेको माटो इटा बनाउनेहरुको खलमा लैजान्छौं। त्यसपछिको इटा बनाएर सुकाउने काम त्यही हुन्छ। त्यसपछि सुकेको इटा भट्टामा ल्याउने काम गर्छौ। 

भट्टामा इटा पोल्ने काम कहिले हुन्छ, त्यसको उपयुक्त समय कुन हो ?

औद्योगिक प्रवद्र्धन बोर्ड, नेपाल इटा उद्योग महासंघ र उद्योग मन्त्रालयको सहकार्यमा एउटा निर्णय भएको छ। नेपाल अधिराज्यभर नै अहिले वातावरणमा प्रदूषण बढ्ने भएकाले पुष मसान्तसम्म इटा उद्योगमा आगो नलगाउनु भन्ने निर्देशन छ। वातावरण प्रदूषण हुने भएकाले पुषसम्म इटा उद्योगमा आगो नलगाउँदा ठिक होला भन्ने हाम्रो पनि बुझाइ छ। 

पुष महिनामा धेरै हावा चलेको हुदैँन्, सबै इटाभट्टाहरुमा एकै पटक आगो लगाउने हो भने यसले वातावरणलाई धेरै प्रभाव पार्ने हुदाँ माघ लागेपछि मात्र काम सुरु गर्दा उपयुक्त हुन्छ। यही कुरालाई ध्यानमा राखेर माघ १ गतेदेखि भक्तपुर जिल्लामा भट्टाहरु सञ्चालन हुन्छन्। 

भट्टामा आगो लगाउदाँ के के विधिहरु अपनाउनु हुन्छ ? 

पहिला पहिला इटा उद्योगमा प्रविधि नजान्दा धेरै दाउरा बाल्ने गरिन्थ्यो। विगत २० वर्षदेखि कोइला सल्काउनलाई थोरै दाउरा प्रयोग गर्ने गरेका थियौं। अहिले ग्यासको प्रयोग गर्ने गरेका छौ। यसले दाउरा पनि बच्यो र वातावरणको हिसाबले पनि दाउराभन्दा ग्यास बाल्नु राम्रो हुन्छ जस्तो लाग्यो। खर्चको हिसाबले पनि दाउरामा धेरै खर्च हुन्थ्यो। ग्यास केही मात्रामा सस्तो पर्छ। 

इटाभट्टा व्यवसायको अहिलेको अवस्था के छ ?

समग्र उद्योगको स्थिति नै ठिक छैन्। समग्र व्यवसायी र व्यापारीहरु पनि समस्यामा छन्। आर्थिक क्रियाकलाप नै कम भइरहेको छ, इटा उद्योग पनि त्यसमा अछुतो रहेन्। उत्पादन भएका तीन–चार वर्षदेखिका इटा स्टकमा छन्। विक्री छैन्। विक्री कम छ। रेटपनि राम्रो छैन्। अन्य उद्योग जस्तो बन्द गरेर पनि राख्न सकिदैन्। जग्गा भाडामा हुन्छ, गाडीहरु छन्, कामदारहरु छन्। जसले गर्दा बाध्य भएर पनि चलाउनुपर्ने अवस्था छ। पोहोर साल ७५ दिन मात्र आगो लगाउने काम गर्यौं। त्यसमा पनि इटा खपत भएन्। अहिले पनि हामीसँग धेरै स्टकमा छ। अहिले बजारमा इटाको माग धेरै कम छ। 
 
माग कम हुनुको मुख्य कारण के होला ?

अहिले निर्माण कार्य नै कम भएको जस्तो लाग्छ। धेरैजसो युवाहरु विदेश पलायन भएकाले काठमाडौंमा घर निर्माण नभएजस्तो लाग्छ। हाम्रो अनुमान पनि मान्छेको जनघनत्व र आयस्रोत नै कम भएर पनि घर बनाउने काम कम भएको जस्तो लाग्छ। 

स्थानीय सरकारले उद्योगको लागि कस्तो व्यवस्था र सहयोग गरेको छ अथवा सहयोग पाउनु भएको छ कि छैन् ? 

स्थानीय सरकारले सहयोग गरेको छैन् भन्न पनि मिल्दैँन्। तर सहयोग भन्दा पनि बढी दुःख पाइरहेका छौं। स्थानीय सरकार आएपछि दुःख र झन्झट बढी भएजस्तो अनुभूति हुन्छ। किनभने हाम्रो उद्योग चलिरहँदा पनि यो ठाउँको माटो निकाल्न मिल्दैन्, यस्तोउस्तो गर्नु हुन्न, भाडा तिरिरहेको जग्गाको माटो लिदाँ पनि कर लिने जस्ता विभिन्न किसिमबाट नगरपालिकाले दुःख दिइरहेको छ। जनप्रतिनिधिहरु आएपछि धेरै समस्याहरु आइरहेका छन्। मेयरहरुले काम सुरु गर भनेर सिफारिस दिनुहुन्छ तर स्थानियबासीले अवरोध गर्ने गरेका छन्। खुल्ला ठाउँमा गर्नुपर्ने काम हो, चोरेर गरेको काम होइन्। विभिन्न समस्याहरु आएपनि समाधान गर्दै अगाडि बढेका छौ। इटा उद्योगहरु अब आधुनिक रुपमा अघि बढेका छन्। वातावरण संरक्षण गर्नको लागि पनि नयाँ प्रविधिमा गइसकेका छौ। विगत आठ नौं वर्षदेखि नयाँ प्रविधिमा अपनाएका कारण वातावरण प्रदूषण पनि कम भएको छ। चिम्नीले कालो धुवा फाल्दैँन्। अब नयाँ प्रविधि प्रयोग गर्दा, प्रदूषण जाँच गर्छौ र सरकारले तोकेको भन्दा पनि धेरै कम प्रदूषण हुनेगर्छ। त्यसलाई पनि अझ कम गर्नको लागि अझै अध्ययन भइरहेको छ। 

हालै इञ्जिनियरहरुले इटा उद्योगमा गर्न सकिने कामको डेमो गरेर देखाउनु भएको छ। यसलाई पनि धेरै मात्रामा गर्न सकिने हो भने अझ प्रदूषणलाई जिरोमा नै लान सक्छौ। 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा मात्र भट्टाहरु बढि भयो, यसले असर पारेको छ भन्ने गुनासो छ। यसप्रति तपाईको धारणा के छ ? 

निश्चित रुपमा उद्योगमा काम गर्दा, अलिकति असर त हुन्छ। नगरपालिकामा मात्र भट्टा उद्योग हुनुको मुख्य कारण भनेको २०६१ देखि नै कुनै इटा उद्योग दर्ता भएको छैन्। नगरपालिकामा पहिला घरहरु थिएन्, फाँट थियो । हामीले उद्योग सञ्चालन गरेको समयमा यहाँ कुनैपनि घर थिएन्। त्यो बेलादेखि नै यहाँ काम गर्दै आएको हो। अहिले यहाँ जग्गा किनबेचले गर्दा बस्तीहरु बस्न आएको हो। तर चाँगुनारायण नगरपालिका मात्र होइन भक्तपुर जिल्लामा एक समयमा एकसय १८ वटासम्म इटा उद्योग सञ्चालनमा थियो। अहिले संख्या घटेर ६०–६२ वटा पुगेको छ। त्यसमा पनि यसपाली ४०–४२ वटा मात्र सञ्चालन हुन्छ कि भन्ने अनुमान छ। 

इटा व्यवसाय सञ्चालनका लागि कस्तो कस्तो कच्चा पदार्थको आवश्यक पर्छ ?

कच्चा पदार्थ भन्दा मुख्य कुरा माटो नै हो। अहिले माटो नै सकिदैँ गएको छ। बिना माटो इटा उद्योग सञ्चालन हुदैँन्। यसका साथै कोइला र भुस इन्धनको रुपमा प्रयोग गर्छौ। चिम्टाइलो खालको माटो हुन्छ। त्यसले इटा बनाउँदा राम्रो र गुणस्तरको हुन्छ र त्यही माटोको प्रयोग पनि बढी हुन्छ। अहिलेका लागि भक्तपुरमा माटोको त्यस्तो कमी छैन्। हामीले माटोको सदुपयोग गर्न सकेनौं र माटो लिन जाने ठाँउमा समस्याहरु आइरहेको छ। काम नलाग्ने, खेती योग्य नभएको जग्गाबाट माटो निकाल्दा खेतीयोग्य पनि हुन्छ। त्यो घडेरीको रुपमा पनि प्रयोग हुन्छ। त्यसकारण निकाल्नैपर्ने माटो मात्र प्रयोग गरेका छौ। भक्तपुर इटा उद्योग छेउमा भने माटो छैन्। अहिले छिमेकी जिल्लाहरुबाट पनि माटो ल्याउने काम भइरहेको छ।  

प्रतिक्रिया