नेपाली कांग्रेस यतिबेला सत्तामा छ। दोस्रो ठूलो दल एमालेलाई नेतृत्व दिएर उ सरकारको हिस्सेदार बनेको हो। संसदका मुख्य ठूला दलको साँठगाँठमा बनेको यो सरकार संविधान संशोधन गर्ने मुख्य वाचा बन्धनमा बाँधिएको छ। तर संविधान संशोधनको कार्ययोजना के के हुने छ भनेर यी दलहरुले सूचि समेत बनाउन सकिरहेका छैनन्। अरु कैयन जल्दाबल्दा बिषयलाई निप्टारा गर्न सरकारलाई हम्मेहम्मे परिरहेको देखिन्छ।
रातारात गृहकार्य भएपछि बनेको यो सरकारमा अरु पनि ससाना दलहरु नभएका होइनन् तर उनीहरुको उपस्थिति नगण्य छ।
सरकारको नेतृत्व गरिरहेको एमाले आन्तरिक लोकतन्त्र तपसिलमा पार्न खोजिरहेको देखिन्छ। अध्यक्ष केपी शर्मा ओलीले जीवनका अन्तिम घडिहरुसम्म आफैंलाई दलको मुखिया बनाउने निश्चित जस्तै देखिन्छ। असहमती प्रकट गरेका नेताहरुमाथि अनुशासनको डण्डा वर्षाएर ओलीले छोरी कुटेर बुहारी तर्साउने रणनीति व्यवहारमा उतारेर देखाईसकेका छन्। भीम रावल सहित केही नेताहरुले सुम्लो बस्नेगरी डण्डा खाईसकेका छन्।
ओली यी नेता तर्साएपछि अरुले आफ्ना विरुध्द मुख उघार्नेछैनन् भन्नेमा ढुक्क देखिन्छन्। तर यसको प्रतिक्रिया कस्तो आउने छ भन्ने त भविष्यमा देखिएला। प्रधानमन्त्री समेत रहेका ओलीले लोकतन्त्रको जति ने दुहाई दिए पनि उनले पार्टीभित्र लोकतन्त्रको अपमान गरेका छन्। असहमत पक्षको दमन गर्ने गलत परिपाटी निरंकुश शासन प्रणालीमा मात्र सम्भव छ, जसलाई स्वयं ओलीले पञ्चायती निर्दलीय व्यवस्थामा मनग्गे भोगिसकेका छन्।
यता अर्कोतिर सत्ताकै अर्को साझेदार दल नेपाली कांग्रेस समेत गुटबन्दीको दीर्घरोगबाट पीडित देखिन्छ। आगामी महाधिवेशनलाई लक्षित गरेर यो पाटीभित्र फेरि खिचडी छड्किन थालेको छ। पार्टीको शीर्ष नेतृत्व र अर्को समूहले भ्रातृ संगठनहरुमा आफ्नो पकड मजबुत पार्ने अभ्यासलाई तिव्रता दिएसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा खिचडी पाक्न थालेको प्रस्ट देखिएको छ।
सभापति शेर बहादुर देउवा र नेता शेखर कोइराला आन्तरिक गुटबन्दी राजनीतिको खिचडी पकाउन दत्तचित्त भएर लागेका छन् भन्दा अन्यथा हुने छैन। कोइरालाले नेपाल विद्यार्थी संघको तनहुँ जिल्ला संगठनमा आफ्नो गुट स्थापित गर्न खुल्लामखुल्ला सक्रियता देखाएका छन्। सभापति देउवा पक्षले पनि आफ्ना गुटका कार्यकर्तालाई कोइरालाको छाँयामा पर्नबाट हरतरहले जोगाउने प्रयाश गरेको देखिएको छ।
नेपाली कांग्रेस जन्मैदेखि गुटबन्दीमा अघि बढ्दै यहाँसम्म आईपुगेको पार्टी हो। पारिवारिक अन्तरकलह हुँदै शीर्ष तहका नेतासम्मले नेता कार्यकर्ताहरुलाई एकतावध्द हुनबाट रोकेर आफ्नो विर्ता जसरी पार्टी कब्जा गर्ने प्रयाश गर्दै आएका छन्। विगतमा लोकतान्त्रिक व्यवस्था स्थापना र पुनस्थापनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आफैं भने सदैव आन्तरिक प्रजातन्त्रको संकट व्यहोर्दै आएको छ।
अहिलेको विवाद कुनै नयाँ घटना भने होइन। यो पार्टीको १५औं महाधिवेशन आउनै लागेको छ। २०७८ मा १४औं महाधिवेशन हुँदा देउवा सभापतिमा निर्वाचित भएका थिए भने कोइरालाले दोस्रो स्थान पाएका थिए। त्यसपछि पार्टीमा वरिष्ठताको विवाद पनि चर्किँदै आएको छ जसलाई समाधान गर्न देउवाले नै रुचि नदेखाएको भनिएको छ।
गत महिना विराटनगरमा आयोजित कोशी प्रदेशस्तको भेलामा यही कारण देखाएर कोइराला गृहनगर छाडेर चितवनतिर हान्निएका थिए। त्यसपछि त गुटबन्दी मत्थर हुनुको साटो झनझन मजबुत हुँदै जाने नेताहरुकै क्रियाकलापले देखाईरहेको छ।
पछिल्ला दिनमा महामन्त्री गगन थापाले कोइरालाको साथ छोडेको र सभापतिको छत्रछाँयामा सरेको भन्ने चर्चा पनि छ। पूर्व महामन्त्री शशांक कोइराला र वर्तमान महामन्त्री गगन थापालाई आफूसँग राखेर सभापति देउवाले पार्टीमा रहेको वर्चश्व तलवितल हुन नदिने रणनीति अख्तियार गरेको कांग्रेसजन नै मान्दछन्। तर यस बिषयमा कसैले पनि मुख खोलेर प्रतिक्रिया दिएका छैनन्। यदि यसो हो भने नेता शेखर कोइराला पार्टीको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर देखिन्छ। कथित तेस्रो गुटका नेता पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला खुलिसकेका छैनन्। महाधिवेशनको पूर्व सन्ध्यासम्म मौनव्रत लिने गरेका सिटौलाले तराजुको अवस्था हेरेर मात्र निर्णय गर्ने निश्चित छ।
दुनियाँको नजरमा सदैव पार्टी एकताको मन्त्र जपिरहेको जस्तो देखाउने नेताहरु रातदिन गुटबन्दीमा सक्रिय देखिन्छन्। यसले देशको पुरानो पार्टी नेपाली कांग्रेस आगामी निर्वाचनहरुमा सुविधाजनक मत ल्याएर संसदमा एक्लै सरकार बनाउने क्षमता कसरी आर्जन गर्ला भनेर वहस र संवाद भैरहेको पाईन्छ। https://www.youtube.com/watch?v=wkiOLt-2Fik
प्रतिक्रिया