इटा उद्योगका मजदुर भन्छन्: ‘जति दुःख छ त्यति पारिश्रमिक छैन’

काठमाडौँ। काठमाडौँ उपत्यका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ। यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ। 

इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन्। तर जोखिमपूर्ण मानिने इटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन्। जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन्। 

काभ्रेबाट आएका शिवबहादुर तामाङ ६ बर्षदेखि इटा बनाउँदै आएपनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए। “मैंले इटा बनाउन थालेको ६ वर्ष भयो। पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ। पहिला आफैंले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो। अहिले मेसिनहरुका कारण केही सहज भएको छ,” उनले भने, “तर इटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन्। हजारवटा इट्टा बनाएको १२ सय ५० आउँछ। दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ। विहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन्।”

शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ। उनले भने, “काम गरेको पूरै पैसा काम सकिएपछि बैशाखतिर मात्र आउँछ। जति धेरै इटा बनायो, उति्त पैसा आउँछ। डेढ लाख जति बनायो भने एकलाख ७५ हजार रुपैंयाँ आउँछ। दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ। दुःख गरे अनुसार यो पैसा थोरै नै हो।”

अन्यन्त्र रोजगारी नभएका बेला इटा बनाउने कामले आफूहरुलाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ। “अन्त काम छैन। सिजनका बेलामा अलिअलि भएनी कमाई हुन्छ। बालबच्चा पाल्नुपर्यो। आफूले पनि खानैपर्यो। सिजनका बेला भट्टामा आउँछु। भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,” उनले भने । 

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए। इँटा व्यवसायबाट साहूहरुलाई पनि समस्या नै भएको उनको भनाइ छ। “हुनत साहूहरुलाई पनि धेरै गार्हो होला। जग्गाको भाडा तिर्नुपर्यो, माटो किन्नुपर्यो, इटा बनाउने र बोक्नेहरुलाई पैसा दिनैपर्यो,” उनले भने, “तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो। कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौं। हामीलाई घाटा छ। एक बोरा चामलको २५ सय पर्छ। सबै खाद्य सामग्री महंगो छ।”

यता, इटा उद्योगीहरुका आफ्नैखाले समस्याहरु छन्। धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाई छ। 

“उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ। शिक्षाको क्षेत्रबाट बञि्चत भएका, आर्थिक स्तर कमजोर भएकाहरुलाई इटा उद्योगले रोजगारी दिलाएको छ। रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,” अध्यक्ष ह्योम्वाले भने, “मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा वृद्धि भएको छ। ३० हजार कामदारले रोजगारी पाएका छन्। एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैंयाँसम्म मजदुरहरुलाई वितरण गरेको रेकर्ड छ।”

जति संख्यामा इँटा बनाए उति्त नै पारिश्रमिक दिने गरेको उनले बताए। श्रीमान–श्रीमती नै मजदुरी गर्नेहरुले दिनमै ३६ सय रुपैंयाँसम्म वितरण गरेको उनले सुनाए।

इटाको मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर इटा स्टक बस्दा व्यवसायीहरु मारमा परेको उनको भनाइ छ। “इँटा चारपाँच बर्षदेखि नै स्टक बसिरहेको छ। तर मजुदुरलाई दिनुपर्ने सेवा सुविधा दिनैपर्छ। दुर्घट्ना बिमा भनेर ६ महिनाको एकमुष्ठ बिमा कम्पनीलाई पैसा बुझाएका छौं। मजुदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौं। मजदुरहरुलाई पहिलेको जस्तो छैन्। धेरै परिवर्तनहरु आएको छ। अहिले माटो मुस्नु पर्दैन्। खन्नु पर्दैन्। पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पथ्र्यो। अहिले सबै ठिक बनाएर ल्याइदिन्छौं। हिलो बनाएर इटा पार्न ठिक्क पार्दिन्छौं। त्यसलाई इटा बनाउने मात्र काम हो,” उनले भने, “परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ।”

अध्यक्ष ह्योम्वाले इटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरुलाई मार परेको बताए। उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरु मारमा परेको उनले सुनाए। तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उनले बताए। 
 

प्रतिक्रिया