‘कार्साङ’ चलचित्र गहन विषयमा बनेको निर्देशकको दाबी

काठमाडौँ। चलचित्र ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन्। 

कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’ मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे।

“झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो। आगोमा नाच्नु पर्ने थियो। सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ। तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो”, काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, “डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ। मलाई के गर्नु–गर्नु भयो। ट्राइ चाहिँ गर्छु भन्ने भयो। आगोमा पसेँ सफल भएँ। उहाँहरुसँग ज्ञान रहेछ।”

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए। झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शकि्त भने यसमा रहेको उनको भनाइ छ।

निर्देशक यम शेर्पाले भने, “चलचित्रको कथा आफैँमा राम्रो छ। सिनेमाले दर्शकको मन छुन्छ। भावुक बनाउँछ र हसाउँछ पनि, राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ।”

चलचित्रलाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ।

उनले भने, “म जहाँ गए पनि दयाहाङको कार्साङ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु, सायद यस्तै खोजी हुने र चासो भयो भने नै चलचित्र हेरिने होला।”

कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए। आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए।

पोस्टर निस्किएपछि चासो बढेको उनको भनाइ छ। तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेको जितुको भनाइ छ।

“म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन। सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो, जितु अगाडि भन्छन्, म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु। सहायक चरित्र हुँदा पनि गर्छु।”

कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले चलचित्रमा अर्थ राख्ने उनको भनाइ छ।

नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताइन्। 

उनले भनिन्, “मेरो काम कस्तो छ भनेर हेर्न पनि यो चलचित्र हेर्नुपर्छ, मलाई प्रतिक्रिया दिन पनि यो चलचित्र हेरिदिनुहुन्छ भन्ने लागेको छ। समग्रमा चलचित्र राम्रो बनेको छ। मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु।”

पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ। चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ।

चलचित्र ‘कार्साङ’ मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै वृद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ। 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
 

प्रतिक्रिया