न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर नबस्न दलहरुलाई संविधानविद ज्ञवालीको सुझाव

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश र अदालतका कर्मचारीलाई इजलास बहिष्कार गर्न आग्रह गरेका छन् । मंगलबार सर्वोच्च अदालतको प्रांगणमा आयोजित विरोध कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने र यसमा साथ दिन न्यायाधीशहरुलाई आग्रह गरेका हुन् ।

उनले बिहीबारदेखि काठमाडौं उपत्यकाभित्रका सबै अदालतहरुमा २ घण्टा इजलास बहिष्कार गर्ने र बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौं उपत्यका भित्रका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिए । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश जबराले आफूखुसी पेशी तोक्ने काम गरेको भन्दै आपत्ति जनाए । उनले भने,‘सेवाग्राहीहरुलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु । वर्षौदेखि तपाईहरुको विचौलियाबाट ध्वस्त हुनुहुन्छ । यो विचौलियालाई तोडनका लागि विचौलियाका जड, विचौलियाका नाइके चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि तपाई सेवाग्राहीहरुको पनि हामीलाई साथ चाहिएको छ ।’

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर बस्ने काम नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सांसद र सरकारलाई संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन आग्रह गरे ।

उनले भने, ‘संसदका सांसदज्यूहरु, अहिले टुलुटुलु हेरेर बस्नु भएको छ भने स्वतन्त्र न्यायपालिका ढल्यो भने तपाईहरुको हतियार भुत्ते हुन्छ । तपाईँको हतियार चलाउनुस् महाअभियोग संसदमा लैजानुहोस् । केवल बारले न्यायालयको समग्र सुधारको कुरा गरिराखेको छ । नभए लोकतन्त्र, गणतन्त्र गुम्न जानेछ ।’

प्रतिक्रिया