टोपी दिवस: चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

काठमाडौँ। नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन्।

तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ। मानिसहरुले चाडपर्व, बिवाह, वर्तबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरुको अनुभव छ। 

असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवसलाई नै भनेर मानिसहरु टोपी किन्न नआउने गरेको बताउँछन्।

उनी भन्छन, “म यो पसलको पाँचौ पुस्ता हुँ। सय वर्ष नै भइसक्योे यहाँ टोपी बेच्न लागेको, ढाकाटोपीको माग पहिला भन्दा त धेरै नै घटेको हो। तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरुको लागि माग हुने गरेको छ। अलिक उमेर ढल्केकाहरुले कहिलेकाँही खोज्नुहुन्छ। युवाहरुले त सोध्नु नी हुँदैन,” उनी भन्छन, “टोपी दिवसकै लागि भनेर आउनेहरु चाहिँ एकदमै कम हुनुहुन्छ।”

रोल्पाका मनोजमणी आचार्य नेपालीहरुको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन्। “नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरुले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ। पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ। यसको मौलिकता छ। युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ। तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ”, उनले भने।  

वि.स.२०७० सालदेखि नेपालीहरुमा मुलुकमा पश्चिम संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए। न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बुढा टोपी दिवस मनाउनुपर्ने बताउँछन। उनी भन्छन्, “ढाका टोपी दिवस मनाउनुपर्छ। यो हाम्रो पहिचान पनि हो। दौरा, सुरुवाल, टोपी त नेपालीहरुको पोसाक नै हो नि।” 

असनमा नै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नपालीहरु र नेपाल घुम्न आएका विदेसीहरुले टोपी खोज्ने गरेको बताउँछिन। “नेपालीहरुले मात्र नभइ फरेनरहरुले पनि टोपी खोज्नु हुन्छ। पहिला नेपालीहरुले मात्रै टोपी लगाउने भन्ने थियो तर अहिले फरेनरहरुले धेरै नै खोज्नुहुन्छ,” उनी भन्छिन्, “पहिला एक लाख जति व्यापार हुने गरेकोमा अहिले चारपाँच लाखसम्मको व्यापार हुन्छ। तर, ढाकाटोपी मात्रैको भने यस्तो व्यापार छैन।”

बाउबाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातीलाई सिकाउनका लागि भएपनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन। उनले भने, “नेपाली पहिचानको लागि टोपी लगाइहन्छु। नेपाली पहिचान झल्काउँछ। बाउबाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो। यो त हाम्रो छोरा नातीलाई शुद्ध सिकाउनपर्छ।” (सुश्मिता वानिया,नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया