शेरादरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गछौं: अध्यक्ष प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। उनले सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भए पनि कानुनको दायरामा ल्याउनुपर्ने जानकारी दिए।

अध्यक्ष प्रचण्डले ललिता निवासको सयौं रोपनि जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभइ धन्यावाद दिने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘‘अहिले यही सेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ। दोषिलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौं। मैले अरु भन्नु केही पनि छैन। मैले खालि सरकारलाई के भन्छु भने कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको सयौं रोपनि जग्गा सरकारको नाममा फिर्ता ल्याइयो। त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यावाद पनि भन्नेछु।’’

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको थियो। त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सिआईबीले पत्र लेखिसकेको छ। बिहीबार समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ।

प्रतिक्रिया