जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन्। 

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन्। 

उनले भने, “हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोहीपनि संघीयताप्रति उदार छैनौ। एकदमै अनुदार छौ। यसमा रुची छैन। मैले नयां दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें। जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन्।”

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताए। उनले संघीयताको बिषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए। 

उनले भने, “संघीयताको बिषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं। दुवै आन्दोलनको महत्व ठूलो छ। तर अलिक फरक रुपमा पनि हेर्नपर्छ। केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ। शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ। सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ। यो संस्थागत कमिटमेन्ट हो।”

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको बिषय धेरै चुनौती र पेचिलो रहेको बताए। 

उनले भने, “संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ। यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो। त्यहाँनेर ल्याकिङ भयो। कार्यान्वयनमा चुनौती र पेचिलो छ।”
 

प्रतिक्रिया