काठमाडौँ। मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ। कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर गरिएको हो।
आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रहेको थियो।
प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायतको उपस्थिति रहेको थियो। दीया र सिर्जनाले शेर्पा पोशाकमा सौन्दर्य छरेका थिए।
शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए। उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गर्दै समारोहलाई रोमाञ्चक तुल्याए।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता छायांकार समेत रहेका पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
हलहरूले फिल्मलाई सुखद् शो दिँदै अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्। यो फिल्म शुक्रबारदेखि देशब्यापी १३० शोसहित प्रदर्शनको तयारीमा छ।
प्रतिक्रिया