– रमेश प्रभात
कसरी जन्मियो नेपाली गजलमा विवाद ?
पाठकवृन्द, यहाँलाई थाहा छ, गजल कुन पार्टीको नाम हो ? यो काङ्ग्रेस, कम्युनिष्ट, राजावादी वा मधेशवादी कुन खालको पार्टी हो ? यहाँलाई थाहा भए मेरो मेसेन्जरमा खुसुक्क लेखिदिनुहोला है त । यो समालोचक बौलायो कि भनिठान्नुभयो हैन त ? म यसका बारेमा सप्रमाण बोल्दै छु ।
हो, वि.सं. २०७६ माघ १५ र १६ मा नेपालको साहित्यको एक मात्र सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले “राष्ट्रिय गजल महोत्सव २०७६ मा सहभागीका तर्फबाट प्रस्तुत घोषणापत्र” नाम राखेर दश जना हस्तीहरूको हस्ताक्षरसहितको घोषणापत्र जारी गर्यो । पाँच वटा बुँदा भएको यो सम्भवतः गजलका नाममा नेपालबाट जारी गरिएको पहिलो घोषणापत्र होला । विश्वा के भइरहेको छ ? यो बबुरोलाई थाहा छैन । थाहा नपाएको कुरा नलेख्दा नरिसाउनु होला । नेपालमा चाहिँ यसरी घोषणापत्र त कुनै नयाँ पार्टी गठन हुँदा र उक्त पार्टीले निर्वाचनमा भाग लिने क्रममा मात्र जारी गरेको देखेको थिएँ मैले ।
घोषणापत्र जारी गर्ने यही बाटोमा काठमाडौँ मात्र नभएर पोखरा पनि लागेको पाएँ मैले । यही २०८१ पुस १५ गते सोमबार पोखरामा संस्था दर्ता नभएको तर स्वस्फूर्त रूपमा जम्मा भएका सत्ताइस जना गजलप्रेमीहरूको हस्ताक्षरमा “पोखरेली गजलप्रेमी समूह, पोखरा गजल घोषणापत्र २०८१” भनेर सात बुँदे घोषणापत्र सार्वजनिक भएको छ । यसरी पाँच पाँच वर्षमा थरिथरि घोषणापत्र आउनु भनेको नेपाली गजलले राजनैतिक पार्टीको बाटो पछ्याउनु नभएर के हो त पाठकगण ?
विवादलाई मत्थर कसरी पार्न सकिएला ?
नढाँटी भन्नुपर्दा नेपाली गजलमा विवाद भित्र्याउने काम नेपाल प्रज्ञा प्रतिष्ठानको २०७६ को गजल घोषणापत्रले गरेको थियो । यसअघि जे जसरी सकिन्छ ? गजल लेखिएका थिए, सक्नेले बहरमा नसक्नेले स्वतन्त्र लयमा लेखिरहेका थिए । प्रजातन्त्रमा पार्टीमाथि प्रतिवन्ध लगाएझैँ उक्त घोषणापत्रमा बहरमा नलेखी गजल नहुने ठहरसहित बुँदा नं. ३ मा यस्तो लेखिएको थियो :
“गजलको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी नेपाली गजल लेखनको मौलिक पक्षलाई यो सभा सम्मान गर्दछ ।”
यो बुँदाले नेपाली गजलमा खैलाबैला मच्चाएको थियो । गजलमा लाग्न चाहने नवपुस्ताको स्वागत गर्नुको सट्टा तिनलाई रोक लगाउने काम पनि भएको थियो । केही बहरवादीहरू बहरमा नलेख्ने गजलकारलाई मुद्दा हाल्नुपर्छ भनेर सामाजिक सञ्जालमा कुर्लिने पनि गरेका थिए भने केही स्वतन्त्र गजल लेख्नेहरू बहर बहिस्कारमा लागेका पनि देखिएको थियो । वास्तवमा गजलकारको काम गजल लेख्ने हो । कुनै पनि अतिवादका पछि लाग्ने होइन ।
वाद आएपछि प्रतिवाद जन्मिन्छ भनेझैँ गजलको पोखरा घोषणापत्रले प्रज्ञा प्रतिष्ठानको प्रतिवाद गर्यो । उक्त घोषणापत्रको बुँदा नं. ५ मा प्रज्ञाको कट्टरपन्थलाई यसरी प्रत्युत्तर दिइएको छ :
“छन्दमा नलेखी कविता हुँदैनथ्यो भने छन्दका महासाधक महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले गद्य शैलीमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य रचना गर्ने थिएनन् । बहर पनि गजल लेखनको प्राचीन छन्द हो त्यसैले स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नु जस्तै एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ । प्राचीन शास्त्रीय परम्परा मात्र ठिक र अरू बेठिक भन्ने सोच राखिएको भए विश्व साहित्य र नेपाली साहित्यमा गद्य कविता, आधुनिक नाटक, कथा, उपन्यास, निबन्ध कुनै पनि विधा जन्मने थिएनन् भन्ने यथार्थमा सबै साहित्यकार र विशेष गरी गजलकारहरूको ध्यान आकृष्ट गर्दछौँ ।”
यसरी समूह वा गुट, उपगुट बनाएर त नेपाली गजलको विकास कसरी सम्भव छ ? उर्दूका बहर जान्नेले बहरमा लेखे भयो । संस्कृतका पिङ्गल छन्द जान्नेले त्यसमै लेखे भयो । ती दुबैमा पारङ्गत नभएकाले नेपाली लोक लय वा स्वनिर्मित लयमा लेखे त भइहाल्यो । यसमा बारबन्देज लगाउने र एकअर्काको खुट्टन तान्ने काम रोकी गजल नै सिर्जना गर्नमा दत्तचित्त भएर लागेमा मात्र नेपाली गजलको श्रीवृद्धि सम्भव छ । कि कसो पाठकवृन्द ?
‘अग्राख’ जन्मिनुको सन्दर्भ के हो ?
पाठकवृन्द, पक्कै पनि शून्यमा साहित्य जन्मिँदैन । यो कुरा गजलकार अविनाश सापकोटामा पनि लागू हुन्छ । उनी आफ्नो लेखकीय मन्तव्य ‘आफ्ना कुरा’मा आफू साहित्यमा आउनुका कारणबारे यस्तो लेख्छन् :
“अञ्जुलीमा उठाएर मायाका ती सौगात दिँदा,
तिम्रो मनको कठोर त्यो आत्मा न त गल्दो रैछ ।
अर्पण गर्दा लत्याएको यो मनको भाव सम्झी,
आँसु झर्दा आँखाबाट आगो बनी पोल्दो रैछ ।
– केदारप्रसाद सापकोटा, ‘कुलदीप’
एउटा पुरानो डायरीमा लेखिएका यिनै शब्दहरू हुन् जसले मलाई साहित्यको क्षेत्रमा कदम राख्न उत्प्रेरित गरे । यी शब्दहरू के थिए मलाई ज्ञान थिएन । मैले पनि यस्तै रचनाहरू लेख्न सके हुने झैँ लाग्थ्यो ।”
यो काफिया नमिलेको गजलजस्तो लाग्ने रचना कसको हो ? कहिले लेखिएको थियो ? कतै छापियो कि छापिएन ? यसका बारेमा थप सूचना छैन त्यो भूमिकामा । यसपछि लेखक गजलतिर आकर्षित भएको कुरा भने गरिएको छ । जेहोस् एउटा अपूर्ण रचनाको शक्तिका कारण उनी गजलप्रति आकर्षित भएका रहेछन् । उनले सुरुमै कुनै पूर्ण गजल पढ्न पाएको भए के हुन्थ्यो होला ? म कल्पना गरिरहेछु यतिबेला ।
‘अग्राख’का गजलको छोटो चर्चा गरौँ न !
पाठकवृन्द, मधेश प्रदेशको बारा जिल्लाअन्तर्गत सिमरामा बसोबास गर्ने गजलकार अविनाश सापकोटाको ‘अग्राख’ गजल सङ्ग्रह वि.सं. २०८१ भदौमा छापिएर आएको हो । लेखकको पहिलो एकल कृतिका रूपमा आएको यो कृतिको प्रकाशक रजनी पौडेल हुन् । यो गजलकृतिमा कूल ९७ वटा गजलहरू समाविष्ट छन् । यसभित्र समाविष्ट अधिकतर गजल पाँच शेरका छन् भने केही गजलमा चार शेर पनि रहेका छन् । यी गजलहरू ‘मुसलसल’ र ‘गैर मुसलसल’ दुबै खालका छन् । यिनमा शास्त्रीय लय र स्वतन्त्र लय दुबैको प्रयोग गरिएको छ । यहाँको मनमा ती गजलमा के कस्ता भावहरू समेटिएका छन् ? भन्ने लागेको होला । त्यसको समाधानका लागि यहाँ केही शेरहरू साभार गरी निम्नानुसार तिनको चर्चा गरिएको छ :
पाठकवृन्द, गजलकार आम मान्छेले भन्दा फरक तरिकाले सोचिरहेका छन् । उनी हेराइ वा दृष्टिकोणका बारेमा यस्तो धारणा राख्छन् :
तिमीले उल्टो देख्यौ मैले सुल्टो
आँखा हैन नियतमै फाटो रहेछ । (पृ. १)
लेखकमा दार्शनिक चेत पाइन्छ । उनी रिस र घमण्डका बारेमा अरुले भन्दा फरक तरिकाले यसरी गजलमा भाव भर्छन् :
रिस अनि घमण्ड भन्नू आधा गाग्रो पानी झैँ हो
जति धेरै छचल्किन्छ सोभन्दा धेरै पोखिनुपर्छ । (पृ. २)
मान्छेहरू अरुका बारेमा कति सजिलै धारणा बनाउँछन् । आफूलाई अरुभन्दा कति सजिलै भिन्न देख्छन् ? भन्ने बारेमा यस्तो धारणा राखेका छन्:
यस्तो होला सोच्दैन, फरक देख्नु अगाडि
गोरो मान्छेको पनि छायाँ कालो हुन्छ । (पृ. ४)
उनी साथी भेट्दा पनि खुसी हुन नसकिने र तिनबाट धोखा हुन सक्ने कुरालाई आगो र काठको बिम्ब प्रयोग गरी यसरी बयान गर्छन् :
साथी भेट्दा लाग्ला गन्तव्य पार हुन्छ
आगोको संगत गर्ने काठ अँगार हुन्छ । (पृ. ५)
हो, मान्छे जसरी पनि बाँच्न चाहन्छ । तर जीवनको अन्त्यमा प्राप्त हुने भनेको त मृत्यु नै हो । जीवनभरि बाँचेर मृत्यु स्वीकार गर्नुलाई गजलकार यसरी भाव भर्छन् :
मृत्यु र जीवनमा फेरि जीवन रोजेँ
मर्न सिवाय के सकिन्छ र बाँचिए नि । (पृ. ६)
उनी धरातल बिर्सेर जीवन जिउनेहरूका बारेमा यसरी अभिव्यक्त हुन्छन् :
धरती थियो धरातल उड्नेहरूले बिर्से
धागो बटारे चंगा निहुरेर आइदिन्छन् । (पृ. ३२)
जीवनलाई थप प्रकाश पार्ने क्रममा उनी युद्धमा जीवन गुजार्ने सैनिक र उसले कसरी घर बिर्सेर समय कटाएको हुन्छ ? भन्ने भावलाई यसरी आफ्ना शेरमा उतार्छन् :
तिमी जाबो दुई दिन घर नपुग्दा मात्र आत्तिन्छौ
यसो सोच्नू के होला युद्धमा दिन काट्नेको लागि ? (पृ. २४)
उनी जीवनलाई जीवनका रूपमा मात्र नलिएर त्यसका माध्यमबाट व्यङ्ग्य गर्न पनि पछि पर्दैनन् । हेरौँ एउटा शेर :
मेरो कमजोरी जाँचिएपछि गरिएको हो छल पनि
हावाको सहारा नपाई उड्दैन बादल पनि । (पृ. ६८)
हुन त अविनाशको मूल स्वर व्यङ्ग्य होइन, तर उनका थुप्रै शेरमा व्यङ्ग्य पस्किएको पाइन्छ । हेरौ व्यङ्ग्यको एउटा नमुना :
जस्ले फूल कुल्ची हिँड्यो आफैँ आज माली भयो
यो आतंक यस्तो बन्यो सारा बाग खाली भयो । (पृ. ९२)
उनी पैसाको बोलवाला भएपछि समाजमा के हुन्छ ? समाज कस्तो हुन्छ ? भन्ने बारेमा पनि यसरी व्यङ्ग्य गर्छन् :
जिब्रो हुनेको बोली सुन्दैन यो अदालत
पैसा बजे लगत्तै भित्ताको कान हुन्छ । (पृ. ४४)
मान्छेको सबैभन्दा उत्तम प्राप्ति भनेको उसले गर्ने याद हो । उनी यही यादलाई पनि यसरी काव्यात्मक तरिकाले व्यङ्ग्य गर्छन् :
याद तिम्रा भुल्नुपनेै काम यौटा याद आयो
साथ माग्दा तर्किएथ्यौ भुल्न खोज्दा याद आयो । (पृ. ९७)
माथिका शेरहरू भनेका त सर्सर्ती पढ्दा जे भेटियो त्यही टिपिएको टिपोट अर्थात् ‘र्यान्डम स्याप्लिङ’ हो । यसलाई रस लिएर ग्रहण गर्न त आफैँले पढ्नुपर्छ । पाठकवृन्द, यहाँको सहरमा यो कृति पुगेको छ कि नाइँ ? नपुगेको भएचाहिँ लेखक वा प्रकाशकलाई सम्पर्क गर्नुहोला है त ?
‘अग्राख’को मूल प्राप्ति के हो ?
गजलकार अविनाश सापकोटाको ‘अग्राख’ गजल सङ्ग्रह नेपाली गजलको विवादका बिचमा जन्मिएको सशक्त गजल हो । झगडाका बिचमा उभिन त साल अर्थात् अग्राख नै हुनुपर्छ । हो, यही धारणा राखेर यसको नामकरण पनि गरिएको हुनुपर्छ, नत्र त गजल कडा होइन, नरम खालको हुनुपर्छ भन्ने मान्यता छ । गाली गरे पनि चराको चिरबिर वा प्रेयसीको कटाक्षजस्तो हुनुपर्छ भन्ने शास्त्रीय मान्यताका विपरीत यसको नाम राख्नुका पछाडि अरु केही तुक देख्दिनँ म । विवाद गर्नेलाई गर्न दिऊँ, गजलकारहरू गजलको साधनामा लीन रहौँ भन्ने अमूक सन्देश दिनु नै यसको मूलभूत प्राप्ति हो । पहिलो कृति नै सर्वोत्कृष्ट हुनुपर्छ भन्ने कहाँ छ ? लेख्दै जाँदा एक दुई गजल जनमानसका दिलमा बस्न सके त भइगयो । त्यति हुँदाहुँदै पनि उनका केही शेरहरू उम्दा छन् । हेरौँ नमुना :
१. हराई हेर्नुहोला तब थाहा हुन्छ
क–कसलाई हजुरको खाँचो रहेछ । (पृ. ५८)
२. बदल्ने छु पक्कै कथा जिन्दगीको
शुभारम्भ यात्रा सयौँ दीप बालाी । (पृ. ५०)
३. अँगालो हाल्न आए दुश्मनहरू अचानक
अन्दाजले यो गर्धनको नाप गर्न होला । (पृ. ५५)
माथिको पहिलो शेरमा समाजको चित्रण कति राम्रोसँग गरिएको छ ? होइन त पाठकवृन्द ? त्यस्तै दोस्रो शेरमा ‘बहरे मुतकारिब मुसम्मन सालिम’को प्रयोग गरी जीवनप्रति कति सुन्दर आशा जगाइएको छ ? त्यस्तै तेस्रो शेरमा यो समाजमा मित्रका भेषमा कसरी दुश्मनहरू पछि लाग्छन् ? मार्मिक चित्रण गरिएको छ । यसर्थ ‘अन्दाजे बयाँ’ उनको सबैभन्दा मूल प्राप्ति हो । अविनाशजी, गजल लेख्नचाहिँ नछोड्नु ल ! तपाईंको यो कृतिको सफलताको भारी शुभकामना ।
प्रतिक्रिया