बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गरेकी छिन्।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा। राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ वटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गरिन्।

यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत उक्त राहत उपलब्ध गराइएको हो ।

सो अवसरमा मन्त्री राणाले गत वर्षात मौसमको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोले देशैभरि अकल्पनीय रुपमा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको बताईन्। 

मन्त्री राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको चर्चा गर्दै आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको बताईन्।

उनले जलवायु परिवर्तनका कारण सिङ्गो नेपालका अतिरिक्त महिला तथा बालबालिका बढी जोखिममा रहेको तथ्यलाई नेपाली समाज, परिवार र राष्ट्रले नै बुझ्नुपर्ने धारणा राख्दै आफू नेपाललाई जलवायु न्याय दिलाउन लागिपरेको पनि बताईन्।

मन्त्री राणाले मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री डा। राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर  र समाजको भएको चर्चा गर्दै भनिन्, “सुरक्षित मातृत्वका लागि पहिलो जिम्मवारी घर र समाज हो, त्यसपछि नीतिगत व्यवस्था गर्ने दायित्व सरकारको हुन्छ, त्यसैले सबैले दायित्वबोधका साथ महिलाका लागि सोच्नुपर्छ ।”

वितरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व मन्त्री उमेश श्रेष्ठ र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतिक्रिया