काठमाडौं। राष्ट्रिय राजनीतिका शीर्ष मानिएका केही नेताहरु अब स्वेच्छिक अवकाश लिएर विश्राममा जाने बेला भएको छ। जेजति योगदान गर्न सके उनीहरुले त्यो गरिसकेका छन्। अब ‘त्यो पर्दैन’। अब पनि उनीहरुकै योगदानमा निर्भर भैरहनु देशका लागि पनि हितकर छैन, स्वयं उनीहरुको कायालाई पनि स्वस्थप्रद देखिँदैन।
नेताहरु ज्यादातर थकाई रोगी जस्ता देखिन्छन्। सदैव घेरावन्दीमा रहने अनि स्वार्थ समूहले सुनाएका झोसपोल र असत्य प्रशंसाका पोकाहरुले स्मृतिपट भरिभराउ भएर उनीहरुको काया क्लान्त भैसकेको छ।
गुप्त सूचना अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली मध्यरातसम्म व्यस्त रहन्छन्। केही निकट र घनिष्ठ व्यक्तिहरुसँग गफगाफमा मस्त भएपछि पनि उनी कहिलेकाँही उस्तै महत्वपूर्ण फायल अध्ययन गर्छन्। भालेको पहिलो डाकपछि मात्र उनी ओछ्यानमा जान्छन्। यो उनको नियमित आनीबानी जस्तै हो।
बिहान पनि धेरैबेर नसुत्ने ओलीको बानी छ। यसरी हेर्दा ओलीलाई अत्यावश्यक मात्रामा चाहिने निन्द्रा नै पुग्दैन। गहिरो निन्द्रा मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पोषणतत्व मान्छन् चिकित्सकहरु। मष्तिष्कलाई ताजातरोजा राख्न निन्द्रा नै मुख्य खुराक मानिएको छ। साधारण बुझाईमा पनि यसमा अविश्वास गर्नुपर्ने कारण देखिँदैन। प्रधानमन्त्री ओलीका हकमा पर्याप्त निन्द्रा पाउन नसक्नु या बेलैमा नसुतेर शरीरलाई सताउनु ढल्कँदो उमेरमा सही मान्न सकिँदैन।
लामो समय जेल बसेका अझ गोलघरमै थुनिएका ओलीको लामो जीवन आधारभूत आवश्यकताको अभावमा नै बितेका कथाहरु सार्वजनिक भैसकेकै छन्। सत्तामा पुगेपछि उनले पटक पटक गम्भीर शल्यक्रिया गरेर शरीरलाई सामान्य राख्ने प्रयाश गरिरहेको जगजाहेर नै छ।
अब ओलीले भरपर्दो उत्तराधिकारी चुनेर आफ्नो दलको सत्ता हस्तान्तरण गर्नु नै दूरदर्शी निर्णय हुनेछ, अरुका लागि समेत प्रेरणाको बिषय बन्ने छ। राजकीय सत्ता त गोलमेच हो, कहिले को आउँछ कहिले को जान्छ, यो चलिरहन्छ। तर अब उनले सत्तातृष्णाबाट पर हटेर जीवन र जगत अनि आफ्नै अन्तरसंसारको अवलोकन गरेर शान्त जीवन व्यतित गर्नु नै वुध्दिमानी हुनेछ भनेर सल्लाह दिनु उनका शुभेच्छुहरुको कर्तव्य हुनेछ। तीतो सत्य सुनाएर आफ्ना अग्रजलाई झक्झक्याउनु र उनका मलिन हुँदै गरेका दृष्टिबाट पर्दा हटाउनु अनुजहरुको परमकर्तव्य हुनआउँछ।
महात्मा विदूरले तीतो सत्य बताएर नेत्रहीन महाराज धृतराष्ट्रको अन्तरदृष्टि खुलाउने प्रयाश गरेको दृष्टान्त पढ्न पाईन्छ महाभारतमा।
सार्वजनिक सभाहरुमा ज्यादै लामो मन्तव्य दिन माहिर मानिएका प्रधानमन्त्री ओलीले कतिपयले आफूलाई चिन्न छाडेको भनेर स्वयं आफ्नो मूल्यांकन गर्न थालेका छन् । आफूलाई ‘साधारण र इमानदार मान्छे ठान्ने ओली के साँच्चै सर्वसाधारणका नजरमा पनि त्यस्तै होलान् त भनेर प्रश्न उठ्यो भने त्यसको जवाफ के हुनेछ, यसै भनिहाल्न सकिँदैन। ओलीको यो स्वमूल्यांकनले पनि संकेत गर्छ कि उनलाई थकाईले निकै नै च्याप्न थालेको छ। यसको सोझो सन्देश हो ओलीले दल र राजकाजको सत्ताधपेडीबाट विश्राम लिन विलम्व गर्नु हुँदैन।
ओलीले विहीबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्ने क्रममा आफ्नै मूल्याङ्कन गरेका हुन्।
‘केपी ओली को ? को ? यति पनि बिर्सने भए यहाँ । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्’ ओलीले आफ्नो बारे थप व्याख्या गर्दै भने, ‘को केपी ओली भन्ने कुरा म बताउन्न। मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो। इमानदारिताका साथ काम गर्ने मान्छे हो।’
उनले यतिमात्र भनेनन् एमाले र आफूलाई सिध्याउने भन्दै धेरै मान्छे कराएको भनेर झिंगाले सरापेर डिंगा नमर्ने लोकोक्ति पनि उदृत गरे।
‘एमालेलाई मार्छौं, सिध्याउँछौं भनेर उधुम कराए। कोही भाला लिएका छन्, कोही के लिएका छन्, कराएका छन्। यति हौसिए कि, म त भित्तामै टाँसिदिन्छु भन्न पनि भ्याए’ ओलीले भने, ‘भित्तामा टाँसेपछि फोटो भएन ? एमाले कुनै अस्तित्वमा छैन पनि भने। के भनेको हो ? झिंगाले सराप्दा डिंगा मर्दैन। झिंगाले मरिहाल्यो भन्छ तर त्यसले सरापेर गाइभैंसी मर्दैन, त्यस्तै हो।’
अन्यथा अर्थ नलागेमा, ओलीका यी अभिव्यक्तिले उनलाई आलोचना सहन त के सुन्नसमेत असमर्थ नेताका रुपमा चित्रित गरिरहेको भान हुन्छ। अरुलाई तीर मार्न खप्पिस ओली आफू भने मट्यांग्राको चोट समेत सहन असमर्थ देखिन्छन्। यो पनि बुढेसकालको विश्राम अत्यावश्यक भएको एक उदाहरण हो।
प्रतिक्रिया