इनरुवा। शिक्षासेवी स्वर्गीय शान्ति गुरुङको स्मृतिमा इनरुवामा कोशी प्रदेशस्तरीय सिनियर पुरुष टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघको १६ औं स्थापना दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले आयोजना गर्न लागेको यो प्रतियोगितामा ६ टिम समावेश हुनेछन् ।
प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ, उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र आयोजक नेकोस इनरुवा–११ समावेश छ।
आइसीसीको नियमअनुसार आयोजना हुने यो प्रतियोगिताको विजेता टोलीले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार, म्यान अफ दि सिरिजलाई ५०००, उत्कृष्ट ब्याटर र बलर दुवैले समान २५ सय र हरेक खेलको म्यान अफ दि म्याचले १००० रुपैयाँ प्राप्त गर्नेछन् ।
सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा आयोजना हुने खेलको फाइनल माघ ६ गते सम्पन्न हुनेछ । कूल २० लाख ५० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा झापा, उदयपुर र इलामका खेलाडीलाई खाने बस्ने व्यवस्था पनि गरिएको आयोजक नेकोस, इनरुवा नगर कमिटीका संयोजक चेतनाथ ९सीपी० पौडेलले जानकारी दिएका छन् ।
स्वर्गीय शान्ति गुरुङ १६ वर्ष शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमान् प्रमोद भण्डारी इनरुवास्थित सखुवागाछी क्रिकेट क्लबको पहिलो ब्याचको खेलाडी पनि हुन् । हाल उहाँ सामाजिक अभियन्ताको रुपमा सक्रिय हुनुहुन्छ ।
प्रतिक्रिया