प्रधानमन्त्री ओलीले पत्रकार महासंघका नेतासँग सोधे– 'के बिहानको साइतमा गरेको भ्रष्टाचार राम्रो हुन्छ?'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम राती गरेपनि फरक नपर्ने बताएका छन्। संसद छलेर राती अध्यादेश ल्याएको भनेर चर्को आलोचना भैरहेका बेला ओलीले राम्रो काम राती गर्न हुँदैन भनेर कतै नलेखिएको दावी गरे।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई दिन प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका ओलीले पत्रकारिताकै चर्को आलोचना गरेका थिए। उनले जारी हुन नै बाँकी रहेको अध्यादेशलाई रातिराति जारी गर्यो भनेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकोमा असन्तोष प्रकट गर्दै ‘देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको’ दावी गरे।

‘हामी १०–५ को जागिर खान आएका होइनौँ। देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुुन्छ। लुुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन। देशका हितमा खुलेआम काम गर्ने हो’ ओलीले झोंक्किँदै पत्रकारहरुसँग असन्तुष्टि पोखेका थिए। उनले प्रश्न गरे, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र?’

दल फुटाउने रहर छैन

राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको ओलीको भनाई छ। दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मक सन्देश फैलाइएकामा चिन्ता व्यक्त गर्दै ओलीले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको बताए। 

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुुर्याउनुुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरुले लाज शरम पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफूू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुुपर्छ भनेर सल्लाह पनि दिए। 

प्रधानमन्त्रीले गलबन्दी लगाएर वधाई दिईसकेपछि महासंघका पदाधिकारी र सदस्यहरुले सामुहिक तस्बिर पनि लिएका थिए, त्यसक्रममा छ जनाले भने घुँडामारेर तस्बिर लिएका थिए। (तस्बिर साभार गोरखापत्र अनलाईन)
 

 

प्रतिक्रिया