काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा राजधानीका कुटनीतिक जमघटमा आजभोलि चर्चाको पात्र बन्न थालेकी छन्।
नेपाली कांग्रेसको सहकार्यमा एमाले अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि आरजुले देशको विदेश मामिला हेर्ने सुवर्ण अवसर पाएकी छन्।
शीतलनिवासमा शपथ लिएपछि आरजुले सिंहदरबारको परराष्ट्र मन्त्रालयको शासकीय ढर्रामा सबैभन्दा पहिले दृष्टि केन्द्रित गरिन्। उनको दृष्टि लक्षित थियो मन्त्रालयमा हुने कांग्रेसी कार्यकर्ताको भिडभाडलाई कसरी व्यवस्थित गर्ने।
नेपाली कांग्रेसका सदाबहार प्रवक्ता प्रकाश शरण महतसम्म आईपुग्दा परराष्ट्र मन्त्रालय नुवाकोट र देशभरका संस्थापन पक्षीय कार्यकर्ताको जमघट हुने एक थलो बनेको थियो। त्यसो त महत नै एक्ला त्यस्ता नेता थिएनन् जसले कार्यकर्ताको भिडभाडमा मात्र आफूलाई नेता भएको महसुश गर्दथे। जुनसुकै पार्टीका नेताले परराष्ट्रको बागडोर सम्हाले, तिनले पनि उसै गरेका थिए।
यो परम्परासँग सुपरिचित आरजुले आफ्नो कार्यसूचिको पहिलो नम्बरमा टिपिन कार्यकर्ताको भिड व्यवस्थापन नगरी परराष्ट्र वास्तवमा प्रोफेसनल अफिस बन्न सक्दैन। यसलाई सबै तौरतरिकाले परराष्ट्र केन्द्रितमात्र बनाउनु पर्छ। अनि उनले कार्यकर्ता भेटघाट गर्ने स्थान निश्चित गरिन् कि नेपाली कांग्रेसको प्रधान कार्यालय कि त निजी निवास बूढानिलकण्ठ दरबार। परराष्ट्रमा विभागीय कामले आउनुपर्ने मानिसहरु र त्यहाँका कर्मचारीलाई मात्र प्रवेश अनुमति दिने निर्णय गरियो। त्यसपछि मन्त्रालयको वातावरणमा आमुल परिवर्तन भएको ठान्छन् त्यहाँका कर्मचारी।
आरजुको पहिलो निर्णय सहजढंगले कार्यान्वयन भएको सुनाउँछन् मन्त्रालयका एक उपसचिव। कार्यकर्ताको भिडभाड स्वाट्रटै शून्यमा झर्दा उनलाई निकै अनौठो पनि लागेछ। तर दिनबित्दै जाँदा ती उपसचिवलाई यो प्रवन्ध उचित लागेछ। भन्छन्–‘सबै मन्त्रालयले यो कार्यको अनुशरण गरेमा सर्भिस डेलिभरीमा सकारात्मक प्रभाव पर्नसक्छ। ट्राफिक प्रहरीले सफलतापूर्वक कार्यान्वयन गरेको मापसे नियन्त्रण (मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाईने निर्णय) जस्तै यो कार्यले देखिने गरी सेवा प्रवाहमा परिवर्तन ल्याउन सक्छ।’
राजधानीस्थित कुटनीतिक समुदायवीच पनि यो निर्णयको चर्चा भएको छ। कामविशेषले परराष्ट्र मन्त्रालय पुग्नुपर्ने ती निकायका प्रतिनिधिहरुले प्रत्यक्ष यो परिवर्तन देखेपछि उनीहरुले मन्त्री आरजुको तारिफ गरेका छन्।
देशको कुटनीतिको बागडोर सम्हाल्न थालेपछि आरजुले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रदर्शन पनि कुटनीतिक समुदायमा चर्चा भएको पाईएको छ। जलवायु परिवर्तनको बिषयमा काठमाडौं देखि राष्ट्र संघसम्ममा उठाएको नेपालपक्षीय प्रश्नहरु र छिमेकी देशहरु भारत तथा चीनको भ्रमणमा भएका भेटघाट, जसले नेपालको परराष्ट्र मामिला प्रदर्शनलाई प्रभावकारी बनाएको विश्लेषण गरिएको छ।
सरकारले भर्खरै आधा वर्ष बिताएको छ, सहमतिअनुसार नेपाली कांग्रेस र एमालेको सहकार्यले निरन्तरता पाउन सक्यो भने मन्त्रीहरुले अनेक परीक्षामा आफूलाई अब्बल देखाउने अवसर पाउने नै छन्। उनीहरुका कार्यक्षमता र कार्यकौशल कति प्रभावकारी हुँदै जानेछन् त्यो पनि भावी दिनहरुमा देखिने नै छन्। परराष्ट्र मन्त्री आरजु राणा देउवाका हकमा पनि यही मापदण्ड रहने छ। तर प्रारम्भिक दिनहरुमा उनको कार्यशैली र प्रदर्शन भने ‘मर्निङ्ग सोज दि डे’भन्न सकिने किसिमको नै छ भन्छन् अनुभवी कुटनीतिज्ञहरु।
खेल कुटनीतिको अवसर
आफ्नो कुटनीतिक कौशललाई परिस्कृत गर्दै जाने उत्तम उपाय हो सावधानीपूर्ण अभ्यास। राजनीति होस् कि व्यापार पारवहन या वाणिज्य र बिकास। यी क्षेत्रमा नेपालले नेतृत्व अनुसारकै परिणाम हात पार्दै आएको छ। जे जस्ता मन्त्री थिए तिनले गच्छेबमोजिमकै भूमिका निर्वाह गरेर गएका छन्। तर एउटा ज्यादै नै महत्वको बिषय सदैव छुट्दै आएको छ, त्यो हो खेलकूद क्षेत्र। विगतमा नेपालका परराष्ट्रमन्त्रीहरु कसैको पनि प्राथमिकता परेको छैन यो क्षेत्र। खेल कुटनीतिको मर्म र बहुआयामिक महत्वलाई कसैले पनि बुझेनन् भन्दा अन्यथा हुने छैन। अझ अहिलेको सन्दर्भमा त खेल कुटनीति नेपालका लागि अत्यन्त महत्वपूर्ण देखिएको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल)ले ल्याएको हलचललाई सामान्य आँक्नु हुँदैन।
यसको आयोजनाको आन्तरिक कथाबारे मानिसहरुका आआफ्ना धारणा र प्रतिक्रिया हुनसक्लान् तर यसले देशभर ल्याएको सकारात्मक तरंग भने चानचुने बिषय हुन सक्दैन। परराष्ट्रमन्त्री आरजु राणाले यो तरंगको प्रचूरमात्रामा उपयोग गर्न सक्छिन्। उनको पहलमा नेपालमा अन्तर्राष्ट्रिय स्तरका केही स्टेडियम मात्र निर्माण हुनसक्यो भने नेपाल विश्वकै महत्वपूर्ण खेल गन्तव्यको सूचिमा चढ्न बेरै लाग्नेछैन। जसले देशको पर्यटन प्रवध्र्दनमा उल्लेख्य योगदान गर्न सक्छ भने स्वदेशमै स्वावलम्बनको अवसर खोजिरहेका युवाको आत्मविश्वास समेत बृध्दि गर्न सक्नेछ। मन्त्री आरजुका लागि यो महत्वपूर्ण अवसर पनि हो र इतिहास रच्ने चुनौति पनि।
सर्वविदितै छ, राजनीतिक खिचातानीको सिकार बन्दै आएको छ नेपाली खेल क्षेत्र। पञ्चायतकाल होस् कि पछिल्लो कालखण्ड नै किन नहोस् खेल क्षेत्रले व्यवसायिक मानिसको योगदान कम कार्यकर्ताको फोस्रो र अर्थहीन रवाफ बढी बेहोर्दै आएको छ। यसमा पनि दक्ष र अनुभवी खेलाडी तथा जनशक्तिको भूमिका बढाउँदै लान सकियो भने नेपालको खेल भविष्य उज्ज्वल देखिन्छ। वर्तमान खेलाडीहरुले त्यसको स्पष्ट संकेत दिईसकेका छन्।
तल्लो तहदेखि नै खेलाडीहरुको पहिचान र उचित प्रशिक्षण गर्न विज्ञहरुको अध्ययन जरुरी छ, जसको अनुसन्धानमा आधारित भएर दीर्घकालिन खेल रणनीति बनाउन सकियो भने निराशाले प्रभावित हुँदै गरेको समाज र युवाहरुमा आशा, विश्वास र भरोसा जगाउन सकिन्छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसमा महत्वपूर्ण योगदान गर्ने अवसर पाएकी छन्। किनभने खेल क्षेत्र केवल युवा तथा खेलकूद मन्त्रालयको मात्र सीमामा सीमित हुनसक्दैन र हुनु पनि हुँदैन। परराष्ट्र मन्त्रालयले पनि यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ।
विदेशमा रहेका नेपाली दूतावास र अवैतनिक प्रतिनिधिहरुलाई केवल शिष्टाचार निर्वाह गर्नमामात्र सीमित नराखी नेपालको प्रवध्र्दन गर्ने दायित्व समेत कार्यान्वयन गर्न परिचालन गर्न आवश्यक छ। यसो गर्न सकियो भने उनीहरुले पनि योगदान गर्ने अवसर पाउने छन्, ती निकायलाई केवल सेरेमोनियल भूमिकाको वन्धनबाट मुक्त गरेर नेपालको उन्नति हुनसक्ने आर्थिक एजेन्डाहरुमा पनि इन्गेज गर्न जरुरी छ। परराष्ट्रमन्त्रीको यसमा ध्यान जानुपर्छ।
यसमा मन्त्री आरजु राणा देउवाको गम्भीर ध्यान पुगोस्।
प्रतिक्रिया