काठमाडौं। एमालेमा फर्किन कम्मर कसिसकेका राष्ट्रियसभा सदस्य बामदेव गौतम तत्काललाई ठक्क रोकिएका छन्। सत्तारुढ एमालेले उनलाई तत्काल पार्टीमा प्रवेश नगराउने निष्कर्ष निकालेको छ। त्यसपछि गौतम स्तव्ध बनेका छन्।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक संवादपछि गौतमले मातृ संस्थामा फर्किने टुंगो लागेको घोषणा नै गरेका थिए। यसअघि एमालेले पनि गौतमलाई पुरानो घरमा स्वागत गर्न तयारी थालेको थियो। तर गौतमलाई पार्टीमा वरीयता दिने विषयमा विवाद भएपछि अध्यक्ष ओलीले तत्काललाई गौतमसँग कार्यगत एकतामात्रै गर्नु उपयुक्त ठानेका छन्।
बामदेवको नजर पार्टी अध्यक्षमा छ। उनले ‘जसले अध्यक्ष दिन्छ, त्यही पार्टीमा जान्छु,’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए। यसअघि पुसमा मात्रै नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेताका रुपमा प्रवेश गर्न अन्तिम तयारी गरिसकेका गौतम बीचमा एमालेसँग संवाद हुन थालेपछि रोकिएका थिए।
गत सातामात्रै उनले एकीकृत समाजवादीले कार्यकारी भूमिका दिने विषयमा कुरा नमिलेपछि आफू एमालेमै जान लागेको खुलाएका थिए। तर एमालेले पनि यसपटकलाई गौतमका लागि ढोका खोलिदिएन।
एक नेताका अनुसार मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले सचिवालय बैठकमा गौतमलाई पार्टीमा के कस्तो जिम्मेवारी दिएर फर्काउने भन्ने विषयमा छलफल भएको थियो। गौतमलाई पार्टीमा फर्काउन विधान संशोधन गरेर नयाँ पद सिर्जना गर्नुपर्ने परिस्थिति आईपरेपछि एमालेभित्रै त्यसको विरोध भएको छ। बामदेवलाई के पद दिने भन्ने विषयले एमालेभित्र खैलाबैला नै मच्चिएको छ।
बामदेव यसअघि नै एमाले उपाध्यक्षमा भइसकेका नेता हुन्। नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन हुँदा पनि पार्टीको उपाध्यक्ष थिए। पछि नेकपा विभाजन हुँदा एमालेमै फर्किएका उनले ०७८ को भदौ १८ गते एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व गरे।
सबै कम्युनिष्ट पार्टीहरु मिलेर एकीकृत दल निर्माण गर्नुपर्ने मत राख्दै आएका उनले पछि त्यही अभियानलाई नै दलकोरुपमा समेत घोषणा गरे। तर दल चलाउन नसकेपछि अहिले उनी माओवादी केन्द्र, एकीकृत समाजवादी र एमाले गरी तीन वटै दलसँग संवादमा रहँदै आएका छन्।
०७९ को निर्वाचनमा एकीकृत समाजवादीको गीत लेखेर चर्चामा आएका उनलाई त्यसबेला नै समाजवादीमा प्रवेश गर्न लागेको भनेर चर्चा भएको थियो। तर त्यसबेला उनी समाजवादीमा अटाएनन्। नेकपामा दुई लाइन संघर्ष हुँदा देखि नै कहिले यता, कहिले उता गरेर अस्थीर राजनीतिक चरित्र भएको नेता भनेर आरोप खेपेका उनी अहिले पनि त्यही अवस्थामा उभिएका छन् । उनको यस्तो राजनीतिक प्रवृत्तिले सबैको विश्वास गुमाउने अवस्था सिर्जना भएको छ।
एक समय एमालेमा कुशल संगठक र लोकप्रिय नेता रहेका उनी पार्टीमा ‘भावी अध्यक्ष’ र देशको ‘भावी प्रधानमन्त्री’कारुपमा हेरिन्थे। उनीप्रति उल्लेख्य कार्यकर्ताको सदासय पनि देखिन्थ्यो।
त्यसो त उनी पटक–पटक सांसद र उपप्रधानमन्त्रीसहित गृहमन्त्री नै भइसकेका छन्। पाँच दशकसम्म पार्टी संगठनमा काम गरेका ७६ वर्षीय बामदेव प्युठानको दाखाक्वाडीका हुन्। त्यहाँबाट भूमिगत राजनीति गर्दै बहुदल स्थापनापछि बर्दियालाई राजनीतिक कार्यथलो बनाएका उनी त्यहीँबाट ०४८ र ०५१ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए।
तत्कालीन एमालेमा हुँदा ०५१ मै मनमोहन अधिकारीको पालामा पार्टीको उपमहासचिव भएका बामदेव पछि पार्टीभित्र विवाद भएपछि पदबाट हटाइयो। पार्टी विभाजन हुँदा सीपी मैनालीको पक्षमा खुलेका उनी ०५६ मा त्यही पार्टीबाट चुनाव लडे। तर पराजित भए।
मैनाली नेतृत्वमा पार्टी बन्न नसक्ने भन्दै त्यसबेला ०५८ मा बामदेव एमालेमा फर्किएका थिए। त्यसबेला एमालेले उनलाई सहजै स्वागत गरेको थियो। पछि माधवकुमार नेपाल महासचिव हुँदा बामदेव उपमहासचिव समेत भए।
०६४ मा एमालेबाटै बर्दियामा उम्मेदवार बनेका उनी विजयी भएनन्। ०७० मा भने उनी प्युठान–१ बाट विजयी भए। ०७४ मा उनी फेरि बर्दिया झरे। तर जित्न सकेनन्।
मालेबाट एमालेमा फर्किएपछि नवौँ महाधिवेशनमा ओलीसँग नजिकिएका बामदेवले ओलीलाई पार्टी अध्यक्ष बनाउन महत्वपूर्ण सहयोग गरे र आफू उपाध्यक्ष बने। उसैगरी संसदीय दलको निर्वाचनमा समेत सघाए। ओलीपछि पार्टीमा नेतृत्व गर्न पाउने आशा राखेका उनी नेकपा गठन र विभाजनका क्रममा ओलीको विश्वास गुमाउन पुगे।
एमालेमा ओली विकल्पविहीन नेतृत्वझैँ बनिरहेका बेला फेरि एमालेमै फर्किने बामदेवको प्रयास असफल भएको छ। ओलीले यसपटक पनि बामदेवलाई धोका दिएका छन्। गत शुक्रबार ओलीसँग वार्तापछि आफू एमालेमा फर्किने पक्का भएको घोषणा गरेका बामदेव उनका लागि एमालेले ढोका बन्द गरेपछि अलपत्र परेका छन्।
विभिन्न आरोह अवरोधबीच एमालेमा पटक पटक शक्तिशाली भूमिकामा रहेका गौतम ०५३, ०६५ र ०७० मा गरी ३७ महिना उपप्रधानमन्त्री एवम् गृहमन्त्री भए। पछिल्लो समय आफ्नै अस्थीर राजनीतिक चरित्रले समेत बामदेवलाई पुनः मूलधारको राजनीतिमा आउनबाट रोकेको छ।
हाल राष्ट्रिय सभा सदस्य रहेका बामदेव तत्कालीन नेकपाबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका हुन्। उनलाई तत्कालीन ओली नेतृत्वको नेकपा सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७७ असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन्।
प्रतिक्रिया