चुरेक्षेत्र जोगाउन प्रधानमन्त्रीसँग पूर्वमन्त्री आचार्यको आग्रह

काठमाडौं । पूर्व मन्त्री महेश आचार्यले चुरे मधेश क्षेत्रमा वसोवास गर्ने देशका करिब आधा जनसङ्ख्याको जीवन चुरेको संतुलित पारिस्थितिकीय प्रणालीमा निर्भर रहको सम्झाउँदै चुरे संरक्षणमा विलम्व नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेसका नेता आचार्यले आफ्नो फेसबूकमा लेखेका छन् चुरेको अवैध दोहन र व्यापारबाट लाभ उठाउनेलाई मात्र संरक्षण अभियानमा आउने शिथिलताले फाइदा पुग्नेछ। यस विषयमा कुनै निर्णय गर्नु अघि विज्ञसँग व्यापक छलफल गर्न गराउन अनुरोध गर्दछु।


यस्तो छ आचार्यको भनाई-

Chure

सम्माननीय प्रधानमन्त्रीज्यू,

चुरे मधेश क्षेत्रमा वसोवास गर्ने देशका करिब आधा जनसङ्ख्याको जीवन चुरेको संतुलित पारिस्थितिकीय प्रणालीमा निर्भर छ। चुरेले नै बर्षौंदेखि मानिसका लागि अन्न, पानी, काठ, दाउरा र बस्तुभाउलाई स्याउला, दुर्लभ पशुपंक्षीलाई आश्रय स्थल र दैवि विपदाबाट सुरक्षा प्रदान गर्दै आएको छ। चुरेको इकोसिष्टम विग्रदा वा चुरे संरक्षण प्रयासमा शिथिलता आउँदा देशले अकल्पनिय क्षति वेहोर्नु पर्ने हुन्छ। यसै पनि वैश्विक रुपमा जलवायु परिवर्तनले ल्याएको संकटको गम्भीर दुष्परिणाम बढदो अनुपातमा वर्षेनि नेपालले भोग्नु परिराखेको बेला हामीले हाम्रा हिमाल, पहाड र चुरे मधेस क्षेत्रका संवेदनशील पारिस्थितिकीय प्रणालीलाई क्षति पुर्याउने गरी अपरिपक्व नीतिगत निर्णय गर्नु वातावरणीय अपराध हुनेछ। 

सरकार अहिले चुरे संरक्षणका लागि यस अघि प्रारम्भ गरिएका कानुनी र संस्थागत प्रबन्धलाई खारेज गर्ने तयारीमा छ भन्ने चर्चाले देशैभरि चिन्ता बढेकोछ। वन सम्पदा र जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेका  उपलब्धिका लागि अन्तर्राष्ट्रिय प्रशंसा तथा छिमेकी भारत र चीनसँग द्विपक्षीय साझेदारीका कैयन आयोजनाले, कार्बन ट्रेडको विश्वव्यापी संजालमा हाम्रो आवद्धता र ईसिमोड मार्फत बहुपक्षीय सहकार्यले पर्यावरण संरक्षणमा नेपालको व्यक्तित्व र जिम्मेवारी वैश्विकस्तरको बनेको छ। नेपालको यो परिचय र प्रयास गुम्नु हुँदैन। चुरे संरक्षणमा सरकारको प्रतिवद्धतामा कमि आउनु र प्राथमिकता घटेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा जानु देशकालागि ठूलो क्षति हुनेछ।चुरेको अवैध दोहन र व्यापारबाट लाभ उठाउनेलाई मात्र संरक्षण अभियानमा आउने शिथिलताले फाइदा पुग्नेछ। यस विषयमा कुनै निर्णय गर्नु अघि विज्ञसँग व्यापक छलफल गर्न गराउन अनुरोध गर्दछु।

महेश आचार्य 
पूर्वमन्त्री, वानेश्वर, काठमाडौं

प्रतिक्रिया