कांग्रेसले स्टार्ट अप साना तथा मझौता सम्मेलन गर्ने

काठमाडौं । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ हुने भएको छ ।

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले स्टार्ट अप व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मेलन गर्न लागेको जनाएको छ ।  विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्न र युवाहरुलाई उद्यमशीलतामा जोड्न सम्मेलनले सहयोग पुग्ने अपेक्षा रहेको बताइन् ।

‘नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो,’ उनले भनिन् ।

सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० वटाभन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा रहेको विभागले जनाएको छ । विभागकी प्रमुख थपलियाका अनुसार दुई दिने सम्मेलनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा पार्टीका नेता, सांसद, युवा उद्यमीहरु, नीति निर्माता, उद्योगपति, लगानीकर्ता तथा प्राविधिकहरु तथा विज्ञहरुको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विभागले जनाएको छ ।

उक्त अवसरमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विभिन्न सत्रहरुमा छलफल समेत हुनेछ ।
 

प्रतिक्रिया