काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधसभा सदस्य शेखर कोइरालाले पौष २५ देखि माघ ४ सम्म संयुक्त अधिराज्य बेलायतको भ्रमण गरे। बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्रमन्त्री क्याथरिन वेस्टको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ पुगेका कोइरालाले नेपाली समुदायसँग भेटघाटदेखि बेलायतका सांसदहरुसँग अन्तरक्रिया पनि गरे।
कोइरालाको भ्रमणलाई लिएर उनको राजनीतिक उचाइको मात्रै चर्चा भएन, नेपाल–बेलायत सम्बन्धमा समेत नयाँ आयाम थप्ने आशा गरिएको निष्कर्ष पनि निकालियो। ठोस कारण सतहमा नदेखिए पनि उनको भ्रमणले नेपाली राजनीतिलाई तरंगित गरिदिएको छ।
अघिल्लो महाधिवेशनमा पार्टीको सभापतिका प्रत्यासी रहेका कोइरालाले अब १५ औँ महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरिरहेका छन्। वर्तमान सभापति शेरबहादुर देउवा पार्टीको नेतृत्वबाट बिदा हुनैपर्ने अनिवार्य वैधानिक व्यवस्थाका कारण समेत महाधिवेशन नजिकिँदा देशभर कोइरालाको हुने गरेको छ।
अहिले कोइरालाको बेलायत भ्रमणलाई लिएर उनको भावी राजनीतिका बारेमा पनि विभिन्न अड्कलबाजी गरिन थालेको छ। कोइरालाको बेलायत भ्रमण र नेपाली कांग्रेसको आगामी महाधिवेशनको साइनो प्रस्ट रुपमा नदेखिए पनि त्यता बसोबास गरिरहेका नेपालीहरुसँगको बसाउठाले भने केही अर्थ राख्ने बताईएको छ। लण्डन प्रवासमा कोइरालाले त्यहाँस्थित जनसम्पर्क समितिका पदाधिकारीहरू, नेपालीहरू, उच्च पदस्थ कर्मचारीहरू र कुटनीतिक नियोगका कर्मचारीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका थिए।
कोइरालाले बेलायतमा रहँदा नेपालको सशस्त्र द्वन्द्वको विस्तृत शान्ति सम्झौताका संयोजक ईयान मार्टिनसँग समेत भेटघाट गरेका थिए भने त्यसक्रममा विस्तृत शान्ति सम्झौताले गरेको सकारात्मक प्रभावसहित दुई देशबीचको आपसी हितको विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले उल्लेख गरेको छ। भेटमा नेपाल–बेलायत सम्बन्ध संसदीय प्रक्रिया, नेपालको कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपाली संसद्ले निर्माण गरेका कानूनबारे समेत कोइराला र त्यहाँका राजनीतिक व्यक्तित्वहरुबीच छलफल भएको थियो।
त्यसो त नेपाल–बेलायत सम्बन्धको दुई शताब्दी नै बितिसकेको छ । सन् १९३४ मै लण्डनमा नेपाली दूतावास स्थापना भएको थियो। यसरी हेर्दा नेपाल र बेलायतको सम्बन्ध दक्षिण एसियाकै पूरानो समेत हो। त्यसयता नेपालको शिक्षा, स्वास्थ्य र विकास लगायत हरेक क्षेत्रमा बेलायतले महत्त्वपूर्ण सहयोग रहँदै आएको छ।
बेलायती सेनामा गोर्खा भर्ती हुनु, बेलायती पूर्वमहारानी एलिजाबेथ द्वितीया र वर्तमान चाल्र्सले पटक–पटक नेपाल भ्रमण गर्नु र नेपालको संसदीय मोडल पनि बेलायती नै हुनुले समेत यी दुई देशबीचको सम्बन्धलाई स्पष्ट पार्छ। तर अहिलेसम्म पनि बेलायती प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेका छैनन्। नेता कोइरालाले बेलायती सांसद्हरुसँगका भेटमा नेपाल–बेलायत सम्बन्धको लामो कालखण्डलाई स्मरण गराएका थिए। उनले बेलायती प्रधानमन्त्रीलाई स्वागत गर्न नेपाल तत्पर रहेको सन्देशसमेत सुनाएका थिए।
‘संसारमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन्, केवल पारस्परिक हित हुन्छन्’ भन्ने उद्धरणको विशेष अर्थ छ। वैश्विक राजनीतिको उतारचढावमा को कता हुन सक्ला तर पारस्परिक हितकै कारण नेपाल र बेलायतको सम्बन्ध आजसम्म सुमधुर र आत्मीय छ,’ कोइरालाले सम्बोधनमा भनेका थिए।
उनले ‘गोर्खा’ को नाममा नेपालीले बेलायती सेनामा गरेको लामो सेवालाई दुई देशबीचको मित्रताकै रुपमा बुझ्नुपर्ने उल्लेख गरेका थिए। दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुवै विश्वयुद्धमा बेलायतका तर्फबाट लडेका थिए, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाएको र बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेको अवस्था समेत कोइरालाले चर्चा गरेका थिए।
नेता कोइरालाले गोर्खा सैनिकका गुनासा सुन्न दुईपक्षीय समिति कार्यरत भएको परिप्रेक्ष्यमा गोर्खा सैनिकले बेलायतमा इमानदारीपूर्वक गरेको सेवासमेतलाई ध्यानमा राख्दै उनीहरूका जायज माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका थिए।
कोइरालाले नेपालमा सङ्कट परेका बेला बेलायतले गरेको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए भने आफू एउटा चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडका बेला गरेको सहयोग समेत स्मरण गरेका थिए। कोइरालाले नेपालको संसदीय अभ्यासमा भइरहेका कार्यहरू, संसद्ले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्य निरूपण आयोग बनाउनेसम्बन्धी विधेयकका विषयमा समेत जानकारी गराएका थिए।
छलफलका क्रममा बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्रमन्त्री क्याथरिन वेस्टले ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय भएको टिप्पणी समेत गरिन्। उनले प्रधानमन्त्री किअर स्टार्मरलाई स्वागत गर्न नेपाल इच्छुक रहेको विषयमा आफूले प्रधानमन्त्रीलाई जानकारी गराउने प्रतिबद्धता जनाएकी थिइन्। त्यस्तै, नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र व्यहोर्नु परिरहेको चुनौतीबारे समेत बेलायत जानकार रहेको भन्दै नेपालका महत्त्वपूर्ण सम्पदा सुरक्षित गर्न अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा नेपाललाई मद्दत गरिरहेको उनले बताएकी थिइन्।
नेता कोइरालाले नेपाल–बेलायत सीधा उडान सञ्चालनदेखि अन्य विविध विषयहरूमा समेत ध्यानाकर्षण गराएका थिए। त्यसक्रममा कोइरालाले स्वर्गीय बीपी कोइरालाले बेलायत भ्रमण गरेको प्रसंग उल्लेख गर्दै स्मरण गराएका थिए। बीपीले सन् १९७० मा नेपालको प्रमुख लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिको नाताले ब्ल्याकपुलमा भएको लेबर पार्टीको सम्मेलनमा भाग लिएका थिए।
बेलायतमा रहँदा कोइरालाको सम्बोधनले बेलायतमा रहेका नेपाली समुदायलाई भावनात्मक रूपमा जोड्न, उनीहरूका मुद्दा सम्बोधन गर्नकालागि दबाब सिर्जना गर्न, नेपालको लोकतान्त्रिक अभ्यास र यसका खतराप्रति सजग रहन र नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउन प्रभाव थपेको विश्लेषण गरिएको छ। कोइरालाको बेलायत भ्रमणले उनको राजनीतिक उचाइसँगै मुलुकको राजनीतिक उचाइलाई समेत उचो बनाउन मद्दत पुगेको दाबी गर्छन् कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेल।
‘नेपालका राष्ट्रपतिहरूले, प्रधानमन्त्रीहरूले, मन्त्रीहरूले बेलायत भ्रमण गरेका थिए। तर सांसदकोरुपमा योस्तरको भ्रमण भएको थिएन, उहाँले नेपालको ठूलो दलको प्रभावशाली नेता र प्रभावशाली राजनीतिज्ञकोरुपमा बेलायत भ्रमण गर्नुभएको छ,’ पोखरेल भन्छन्, ‘यसले दुई देशको सम्बन्धमा थप विश्वास बढाएको छ।’
प्रतिक्रिया