कांग्रेसमा 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको समन्वय गर्न तीन नेतालाई जिम्मेवारी

काठमाडौं ।  नेपाली कांग्रेसले 'ज्येष्ठ राजनीतिज्ञ सभा' गठनको समन्वय गर्न तीन जना नेताहरूलाई जिम्मेवारी दिएको छ ।

कांग्रेसले विधान र नियमावलीको नियम ५० बमोजिम सल्लाह, सुझाव र प्रेरणा दिने उद्देश्यले सभा गठन गर्न लागेको र त्यसका लागि प्रदेश तथा जिल्लास्तरबाट नामावली पठाउन निर्देशन गरिसकेको छ । सभा गठनका लागि जिल्लाहरूबाट प्राप्त नेताहरूको नाम संकलन र संयोजनका लागि कांग्रेसले केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, तारामान गुरुङ र अजयबाबु शिवाकोटीलाई विशेष जिम्मेवारी दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेसको नियमावली, २०७६ को नियम ५० बमोजिम पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने उद्देश्यका साथ केन्द्रीय सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिकर्मीको सहभागितामा 'ज्येष्ठ राजनीतिज्ञ सभा' रहने व्यवस्थाबमोजिम गठन गर्न लागिएको बताए ।

उनका अनुसार उक्त सभा गठनका लागि नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ट सहेर अत्यन्त कठिन र प्रतिकुल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न रुपमा संलग्न राजनीतिककर्मीहरुको नामावली पठाउनका लागि प्रदेश र जिल्लाहरूलाई पार्टी केन्द्रीय कार्यालयले परिपत्र गरिसकेको छ ।

'जिल्लाहरूमा परिपत्र गरिसकिएको छ । उनीहरूसँग आवश्यक समन्वय गरी यथासक्य चाँडो सभा गठनका लागि नामावली संकलनार्थ सहजीकरण गर्न सभापतिले उहाँहरूलाई विशेष जिम्मेवारी दिनुभएको हो,' पोडेलले भने । 

प्रतिक्रिया