काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै समस्याहरु खेप्न परेको बताएका हुन् ।
उनले भने, “देशमा सबैभन्दा ठूलो समस्या अहिले राजनीतिमा देखा परेको छ । राजनीति जनतातिर फर्किएन । राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन् विदेशतिर फर्कियो । मालिकतिर फर्कियो । मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुले । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजका थुप्रै समस्याहरु खेप्न परेको छ ।”
त्यस्तै उनले नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी आफ्ना मित्र रहेको बताए ।
उनले भने, “हामीले नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् । नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं ।”
त्यस्तै उनले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गरे ।
साथै उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले भोलि (सोमबार) काठमाडौंको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए ।
प्रतिक्रिया