त्रि-देशीय महिला टी-२० मा कस्तो होला नेपाली टिमको प्रदर्शन

काठमाडौं। पछिल्लो समय महिला राष्ट्रिय टिमको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो देखिएको छैन। विश्वकप छनोट र एसिया कप छनोट दुबैमा कमजोर प्रदर्शन गरेर नेपाली टिम बाहिरिँदै आएको छ । 

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थाले पनि हालसम्म कुनै उपाधि हात पार्न सकेको छैन। नतिजा नआउँदा आईसीसी र एसीसीले दिने अनुदान पनि महिला टिमको कम छ। 

त्यस्तै आगामी बिहीबार देखि घरेलु मैदान कीर्तिपुरको टियु मैदानमा हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी- २० आई श्रृंखलाका लागि नेपाली टिमको घोषणा भइसकेको छ। 

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ। टिममा यू १९ महिला विश्व कप खेलेका दुई खेलाडी पनि परेका छन्। पूर्व कप्तान रुबिना क्षेत्री र सीता रानामगर तथा यू १९ टोलीबाट पुजा महतो र अलिशा कुमारी यादव पनि टिममा समावेश छन्। अन्य खेलाडीहरूमा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन्। नेपालले पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग खेल्नेछ।

सिरिजमा सहभागी टिमले एकअर्कासँग ३ पटक खेल्नेछन्। लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टी–२० आई सिरिज हो। यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल सहित नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। सिरिज माघ १७ गतेदखि २५ गतेसम्म संचालन हुने क्यानले जनाएको छ।

नेपाली खेलाडीको क्षमतामा कुनै कमी छैन। तर खेलाडीहरु आफ्नो भूमिका र जिम्मेवारीबाट भने खेलमा चुक्दै आएका छन्। टी–२० क्रिकेटमा कुनै पनि भर हुँदैन। एक बल र छक्काले खेल अर्कोतिर मोडिन सक्छ। मैदानभित्र छिरेपछि टोलीको स्तर होइन प्रदर्शन तुलना गरिन्छ। चाहे शून्य मैदान भएको टोली होस् वा सयौं। क्रिकेटमा सुविधा राम्रो पाउने होइन मैदानमा उत्कृष्ट खेल्न सक्नेले जित्ने हो। अनि सानो सानो अवसरले विस्तारै परिवर्तन गराउँछ।

यस ऐतिहासिक सिरिजले महिला क्रिकेट खेलाडीहरूलाई थप प्रेरणा तथा उत्साह थप्नुका साथै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई थाइल्याण्ड र नेदरल्याण्ड्सका दुई टोलीसँग प्रतिष्पर्धा गर्दै थप अनुभव हासिल गर्ने अवसर समेत प्राप्त गर्ने छ।

भर्खरै भएकोे यु १९ महिला विश्व कपमा नेपाली टोलीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। ऋब क्यानले आवश्यक सेवा र सुविधा दिएर उनीहरूलाई व्यस्त बनाउन आवश्यक देखिन्छ। जसका कारण खेलाडी खेलबाट नै पलायन हुने स्थिति नआओस्।
 

प्रतिक्रिया