काठमाडौं। जीवनको पनि र कार्यभारको पनि उत्तराध्र्द यात्रामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शहीद दिवसका अवसरमा तत्वज्ञान प्राप्त भएको छ।
देश ‘स्टन्टबाजी’ बाट नचल्ने ज्ञान प्रधानमन्त्री ओलीलाई आजकै दिन प्राप्त हुनु एक सुखद् संयोग पनि हो। १६ माघ हो आज र यो शहीद दिवस हो। र, स्पष्ट छ यो दिवस मन्त्रीपरिषद्ले निर्णय गरेर ठप्पा लागेका अनगिन्ती दिवंगत व्यक्तिहरु मिसिएको शहीद दिवस होइन। जसले जहानियाँ शासनलाई हाँक दिएर जनतालाई बन्द अँध्यारो गुफाबाट मुक्त गर्न प्राण आहुति दिए, ती चार अमर सुपुत्रको सादर स्मरण गर्ने दिन हो आज, शहीद दिवस। शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल र धर्मभक्त ती महान सपुत हुन्, जसले आफ्नो जीवनसँग साटेर देश र जनतालाई स्वतन्त्रता दिए। त्यो स्वतन्त्रताको दुरुपयोग गर्दै शासनसत्तामा बसेर ‘स्टन्टबाजी’ गर्ने आलोपालो राजकाज गर्दैआएका छन पछिल्लो कालखण्डका नेतृत्ववर्गले, जनताको विश्वासमाथि खेलवाड गर्दै। प्रधानमन्त्री ओली स्वयं पनि अक्सर यस्तै ‘स्टन्टबाजी’ गर्दैआएका नेता हुन् भन्दा कुनै नेपालीको मन चसक्क हुँदैन।
प्रधानमन्त्री ओलीका ‘स्टन्टबाजी’ गणना गर्दै जाने हो भने लामै सूचि तयार हुनसक्छ। आज कसरी हो कानून व्यवसायीमाझ उभिँदा ओलीलाई ‘स्टन्टबाजी’ उचित होइन भन्ने कुराको हेक्का हुनपुगेछ। पञ्चायती निरंकुश शासनको चर्को दमनको शिकार बनेका ओलीलाई शहीद दिवसका दिन यस्तो तत्वज्ञान प्राप्त हुनु स्वाभाविक कुरा हो। किनभने उनी ‘स्टन्टबाजी’ नगर्नकै लागि नेता छानिएका हुन् प्रधानमन्त्री चुनिएका हुन्। उनको व्यक्तिगत राजनीतिक जीवनको शिलान्यास कसरी भएको थियो भन्ने विगततिर नगई मूल्यांकन गर्दा ओली वास्तवमा निरंकुशतन्त्रबाट मुक्त देश र जनताको कल्याण गर्न समर्पित नेतामध्ये हुन्। जनताले यही नै चाहेका पनि हुन्। तर ओलीले राजनीतिमा एक होइन अनेक ‘स्टन्टबाजी’ गरिसकेका छन्। अब नगरुन्, किनभने ओलीले बारम्बार दोहोर्याईरहेका छन्, नेपाली कांग्रेससँगको आलोपालो इमान्दारितासाथ पालना हुनेछ र आगामी
निर्वाचनपछि पनि यो सहमति पालना हुनेछ।
यो समयमा आएर प्रधानमन्त्री ओलीलाई जसरी ‘स्टन्टबाजी’ राजकाजको गहना होइन, यो त धुर्त व्यक्तिको ठगिचाल मात्र हो भन्ने जसरी महसुश भएको छ, यो त देश र जनताका लागि समेत हर्षको बिषय हो। झापा, दमकको दुम्से जंगल छेउमा ठएिको बिजीनेस टावरमा चढेका आन्तरिक पर्यटकले ‘स्टन्टबाजी’ राजकाजको सौन्दर्यविपरितको तत्व हो भन्ने कुरा आफ्ना प्रधानमन्त्रीलाई ज्ञान भएको सुन्न पाएभने उनीहरु पनि प्रशन्न नै हुने छन्। यसमा कुनै शंका छैन।
दुइदिनपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। सभामुख देवराज घिमिरेले पूर्व तयारी परामर्शहरु गरेर कार्यतालिका नै सार्वजनिक गरिदिएका छन्। दुइ अधिवेशनका बीचमा कुनै त्यस्तो संकट नपरिकन पनि केही अध्यादेश ल्याएर चर्को आलोचना बेहोरीरहेका प्रधानमन्त्री ओलीले अब अधिवेशन सत्रमा त्यसको सामना गर्नुपर्नेछ। विपक्षले सरकारलाई आच्छुआच्छु पार्ने गरी तयारी गरिरहेको छ। विपक्षको क्रुध्द मनस्थिति बुझेरै पनि हुनसक्छ ओलीले ‘स्टन्टबाजी’ ले देश चल्दैन भनेर ध्यान मोड्न नयाँ ‘स्टन्टबाजी’ गरेका हुन्।
आज शहीद दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेपालबार एसोसिएसन र युवा कानुनव् यावसायी सरोकार समाजले आयोजना गरेको छलफलमा आफ्ना विचार राख्दै राजनीति सहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्टबाजी’बाट देश नचल्ने बताएका हुन्।
युवा कानुन व्यावसायी सम्मेलनको उद्घाटन सत्रमा ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने पनि बताए।
राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धिकायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा पनि उनले जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्वीकारोक्ति पनि गरे। ओलीले आज यसो भने पनि विगत वामपन्थी दलहरुको सरकार चलाउँदा ओलीले अनुसन्धान गर्ने निकाय र शक्तिशाली राज्यसंयन्त्रहरु आफ्नो अन्तर्गत संगठित गरेर राजकाज चलाएका थिए।
ओलीको भनाई थियो,‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ। सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ। सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफैं कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ। देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागि रहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु।’
प्रतिक्रिया