सहकारीमैत्री ऐन चाहिएकाले अध्यादेश ल्याउनुपरेको सभापति देउवाको स्पष्टोक्ति

काठमाडौं ।  नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । 

शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठीमा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तिकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए । 

उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तिकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसकालागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’

यसको साथै, उनले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्वअझ स्पष्ट भएको बताए । 

नेपाली काङ्ग्रेसले सहकारीको मर्म र भावनाअनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आमनागरिक समक्ष पु¥याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ । 

उनले नेपाली काङ्ग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्यएवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । 
  
 

प्रतिक्रिया