काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत साता सेनाको हेलिकप्टर चढेर तेह्रथुम पुगे । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर गएका उनले त्यहाँ दुई दिन बिताए । पहिलो दिन लसुनेमा सशस्त्र युद्धमा मारिएकी धनरूपा कार्कीको घरमा पुगेर ‘शहीद परिवार’सँगै बसेर खाना खाएका उनले त्यहाँ सर्वसाधारणसँग समेत संवाद गरे ।
धनरुपा स्मृति पार्कको उद्घाटनपछि वसन्तपुरस्थित चोलुङ पार्क अवलोकन गर्दै त्यही दिन जिल्लाको द्वन्द्वप्रभावित क्षेत्र आठराई पुगे । आठराई त्यही गाउँ हो, जहाँ युवा उमेरमा शिक्षकको रुपमा नियुक्त भएका प्रचण्ड कार्यक्षेत्र दुर्गम भएको थाहा भएपछि नियुक्त भएको विद्यालयमै नगई सदरमुकामबाट जागिर छोडेर फर्किएका थिए । तर यसपटक प्रचण्डले त्यसबेला शिक्षककोरुपमा नियुक्ति पाएर अध्यापन गर्न नगएको शारदा माध्यमिक विद्यालय अवस्थित चुहानडाँडा गाउँमै बास बसे ।
आठराई प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो, ओली आठराई गाउँपालिका-४ इवाको तीनसल्लेमा जन्मिएका हुन् । अहिले यहाँ ओलीले आफू जन्मिएको घरको संरक्षणसहित अन्य संरचना समेत निर्माण गराइरहेका छन् । प्रचण्डले ओली जन्मस्थलमा दुई दिन बिताएर त्यहाँ पार्टीको जगमात्रै बलियो बनाएका छैनन्, राष्ट्रिय राजनीतिमा समेत नयाँ सन्देश छोडेर फर्किएका छन् । दाहाल आठराई पुग्नुको अर्को सन्दर्भ थियो- बगाले घटना ।
सशस्त्र युद्ध चलिरहेकै बेला २०५८ माघ १४ मा तत्कालीन शाही सेनाबाट माओवादी लडाकु, स्वास्थ्यकर्मी र स्थानीय समेत गरी २१ व्यक्ति मारिएका थिए । उनीहरूको सम्झनामा यहाँ प्रतिमा निर्माण गरिएको छ भने बगाले स्मृति पार्क निर्माण भएको छ । दाहालले आफू सरकारमा हुँदा यी नै संरचना निर्माणका लागि पटक(पटक बजेट विनियोजन गरेका थिए । यसपटक उनले यी संरचनाको उद्घाटन गरे, बगाले गाउँमा संग्रहालय निर्माणका लागि शिलान्यास गरे । कार्यकर्तालाई प्रशिक्षणदेखि स्थानीय सर्वसाधारण र बौद्धिक समाजसँग अन्तरक्रियासम्मका कार्यक्रममा सहभागी भए ।
चुहानडाँडामा रहँदा पनि उनले आफ्नै कार्यकर्ता भक्तराज कन्दङ्वाको घरमा खाना खाए । दाहालले ओली जन्मस्थल पुगेर वर्तमान सरकारले आर्थिक समृद्धि र सुशासनको सपना देखाएपनि पूरा गर्न नसक्ने उद्घोष गरे । दाहालले माघमा मात्रै यसैगरी पूर्वदेखि पश्चिमसम्म १० वटा भन्दा जिल्ला घुमिसकेका छन् । उनी जहाँ पुग्छन् त्यही गाउँमा बास बस्छन्, कार्यकर्तामाझ रहन्छन् ।
त्यही मर्निङ वाकमा निस्किन्छन्, र जनताका कुरा सुन्छन् । प्रचण्डले आफ्नो दैनिकी र मर्निङ वाकसम्मलाई पनि राजनीतिसँग जोडिरहेका छन् । ‘भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको छु,’ प्रचण्डले आठराईमै कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए । विगतमा पार्टीले ६ महिने अभियान सुरु गर्नुअघि देखि निरन्तर जिल्ला दौडाहामा निस्किएका दाहालले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारको आलोचनामात्रै गरेका छैनन्, आफूले विगतमा गरेका गल्तीप्रति पश्चतापसहित अब सुधारिएको राजनीति गर्न आफू तत्पर भएर जनतामाझ
पुगिरहेको दाबी गर्छन् ।
तेह्रथुम जानुअघि दाहाल दाङको तुलसीपुर पुगेका थिए । त्यहाँ पनि उनी सहीद परिवारकामाझमा रहे । पार्टीले गरेको खबरदारी सभामा उनले माओवादीले विगतमा पटक पटक गल्ती गरेको स्वीकार गरे । ‘हामीबाट पनि गल्ती भएको छ, र अहिले हामीलाई पनि महसुस भएको छ, तर हामीलाई फेरि एकपटक जनताले गल्ती सच्याएर काम गर्ने मौका दिनुपर्छ,' उनको भनाइ थियो । उनले ०८४ को निर्वाचनमा माओवादीलाई बहुमत दिएर परीक्षण गर्न समेत आग्रह गर्दै आएका छन् ।
त्यहाँ उनले माओवादी युद्धमा मारिएका व्यक्तिका सन्तान पढिरहेको विद्यालमा गएर सामूहिक तस्बिरसमेत खिचाएका थिए । घोराही पुग्दा उनले २०५८ मंसिरमा मारिएका लौटन चौधरीको घरको आँगनमा परिवारसँग खाना खाए । घोराहीमा उनले तेस्रो नगर सम्मेलनलाई सम्बोधन गरे ।
‘सुर्खेतबाट बाँके हुँदै दाङ पुगेको छु । सहिद तथा बेपत्ता परिवार र घाइते, अपांग योद्धाहरूसँगको साक्षात्कारका हिसाबले यो भ्रमण महत्वपूर्ण रह्यो,' उनले भनेका थिए । बाँके खजुराको धवलागिरी, दाङ तुलसीपुरको बटोलपुर र घोराही झिगौरामा सहिद परिवारको घरमा बसेर सहिद परिवारले नै तयार पारेको मौलिक परिकार परिवारजनसँग खाँदै उनीहरूका दुःख पीडा सुनेका प्रचण्डप्रति त्यहाँका नेता कार्यकर्ता भने खुसी देखिन्छन् ।
त्यसअघि उनी विराटनगर पुग्दा गरेको मर्निङ वाक र सडकमा एक महिलाले तयार गरेको भक्का सेवनको तस्बिरले निकै चर्चा पाए । स्थानीय तहको उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका प्रमुखमा माओवादीले पहिलोपटक जितेको खुसीयाली मनाउन त्यहाँ पुगेका प्रचण्डले विराटनगरमा एक बिहान सर्वसाधारणमाझ मर्निङ वाक गरेका थिए । हिड्दा हिड्दै उनले सडकमा एक महिलाले बनाएका भक्काको स्वाद चाखेका थिए ।
उनले विराटनगरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन समेत गरेका थिए । दाहालको दौडधुपबारे उपमहासचिव वर्षमान पुन भन्छन्, 'अध्यक्ष कमरेडले पार्टीलाई नयाँ उत्साह र जोस जाँगरका साथ जनताको माझबाट फेरि माथि उठाउने अभियान थाल्नुभएको छ । हामी पनि उहाँसँगै अभियानमा छौँ ।'
पूर्व पुग्दा होस् वा पश्चिम पुग्दा, यसपटक विपक्षी दलको नेताकारुपमा प्रचण्ड सरकारविरुद्ध खरो उत्रिएका छन् । संसद् बन्द रहेको यो अवधिमा उनले जनताका माझमा पुगेर वर्तमान गठबन्धन र सरकारका कामको विरोध गरेका छन् । उनको अधिक समय ओलीको आलोचनामा खपत् हुने गरेको छ । उनले सरकारको आयु समाप्त भएको दाबी गरिरहेका छन् भने आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई बहुमत दिएर पूराना शक्तिहरूलाई पाखा लगाउनुपर्ने बताइरहेका छन् ।
जिल्ला दौडाहाकाबीच प्रचण्डको ध्यान चितवनबाट हटेको देखिदैन । गत निर्वाचनमा चितवनबाट गोरखा सरेका प्रचण्ड अहिले भने चितवन केन्द्रीत गतिविधि गरिरहेका छन् । उनको चितवन प्रेमलाई भरतपुर महानगरपालिकाको प्रमुखमा आफ्नै छोरी रेनु दाहाल हुनुले मात्रै पूर्ण गर्दैन, उनी चितवनमै आफ्नो राजनीतिक आधार निरन्तर गर्ने प्रयासमा देखिन्छन् । उनी हप्ता बिराएर चितवन पुगिरहेका छन् । माघको मात्रै कुरा गर्ने हो भने उनी माघ ३ मा चितवन पुगेर फर्किएका थिए । त्यही साता उनी फेरि माघ ६ मा चितवन नै पुगे । ८ गतेसम्म उनी चितवनमै थिए । त्यसयता बीचमा समाजवादी मोर्चाको विरोधसभादेखि अन्य जिल्लाको भ्रमण भ्याएका उनी १८ गते संसद् बैठक सकेर फेरि चितवन नै पुगेका छन् । प्रचण्डको जिल्ला दौडाहामा पार्टीका अन्य नेताहरू पनि साथै छन् । माओवादी नेताहरू प्रचण्ड सरकारबाट बाहिरिएपछि जनतासँग नजिकिएको माओवादी नेताहरू नै दाबी गर्छन् ।
प्रचण्डलाई तेह्रथुम पुर्या्एर दुई दिनसम्म ग्रामीण भेगमा कार्यक्रम गरेका माओवादी पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाई सरकारबाट बाहिर भएपछि जनतामाझ प्रचण्डको चाह बढेको दाबी गर्छन् । 'उहाँ पटक(पटक प्रधानमन्त्री बन्नुभयो । तर पछिल्लो कार्यकालको कामलाई जनताले नजिकबाट नियालेका छन् । फेरि यसपटक सरकारबाट बिमुख हुने बित्तिकै उहाँले आफूलाई जनताको माझमा पुर्या उनुभएको छ । यसले उहाँको जनतासँगको सम्बन्ध झन् बलियो बनाएको छ,' उनले भने ।
प्रतिक्रिया