काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबैलाई जोड्ने काम गरेको बताएका छन् ।
सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को अवसरमा शुभकामना सन्देश दिदैँ उनले भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको भन्दै सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको बताए । सन्देशमा भनिएको छ, ‘हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ । आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुशी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौशला प्राप्त होस् ।’ उनले पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण संस्कृति लोपोन्मुख भएको भन्दै यसको जगेर्ना जरुरी रहेको पनि बताए ।
सन्देमा जारी, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ । श्रीपञ्चमीका रुपमा समेत मनाइने यो पर्व किसानसंग पनि जोडिएको छ । मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ । यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ । पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण यो संस्कृति लोपोन्मुख छ, यसको जगेर्ना जरुरी छ । कृषि क्षेत्र हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो, यो पर्वले हामीलाई कृषि र कृषिकर्ममा लाग्नेहरुप्रति सम्मान प्रकट गर्न प्रेरित गर्दछ ।’ उनले सरस्वतीको प्रतिमाहरु स्थापना भएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण र होली–गीतहरुले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया