बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं । पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीबारदेखि क्रमिकरुपमा सुधार हुने भएको छ ।     

सो प्रणाली बिहीबारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताइन् । मङ्गलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।


 

प्रतिक्रिया