त्रिकोणात्मक टी–२० सिरिज: नेपालको लगातार पाँचौँ हार

काठमाडौँ। नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो ।

यसअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ । 

जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि स्ट्रि कलिसले अविजित अर्धशतकीय इनिङ्स खेलिन् ।

सतक पुर्‍याउन दुई रन बाँकी राखेकी उनले ६९ बलमा ११ चौका दुई छक्काको सहयोगमा ९८ रन बनाईन् । फेवे मोन्केल्बोरले अविजित ४८ रन बनाईन् । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले अर्धशतक बनाईन् । ५१ बलको सामना गरेकी महतोले पाँच चौकाको मद्दतमा ६२ रन बनाएकि हुन् ।

यस्तै कप्तान इन्दु बर्माले ३७ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ३९ रन बनाईन् भने रुबिना क्षत्रीले भने १७ बलमा २० रन बनाईन् । बलिङतर्फ नेदरल्यान्डसका लागि आइरिस जुइलिङले दुई विकेट हात पार्नुभयो भने क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट हात पारे । 

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ ।

६  अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । अङ्कको खाता खोल्न नसकेको नेपालको उपाधि दौड यसअघि नै सकिएको छ ।

प्रतिक्रिया