बुटवल । निजी क्षेत्रको पहलमा रूपन्देहीको तिलोत्तमा वडा नम्बर १७ पूर्व दरखसवामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको एक्स्ट्राटेक क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम सुरू भएको छ।
अस्ट्रेलियामा सूचना प्रविधिको व्यवसाय गर्दैरहेका विनोद कुँवर उनकी पत्नी सुदीक्षाले पाँच विगाह क्षेत्रफलमा ४५ करोड रुपैंयाँ लगानी गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्। जग्गा बाहेक रंगशालाको पूर्वाधार निर्माणमा मात्र ४५ करोड लगानी हुने कुँवर दम्पतीको भनाई छ ।
यो प्रस्तावित रंगशालाको २०८० साल जेठ २९ गते शिलान्यास गरिएको थियो । यसमा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरी मैदान निर्माण गरिएको थियो। त्यही अनुसारगत फागुन २८ गते मैदानको उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो।
यो रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन् भने रात्री खेल खेल्न मिल्ने गरी फ्लडलाइट जडानको काम पनि सुरू भएको गरिएको छ। एक्स्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुँवरले रंगशालामा फ्लडलाइटको पोल झारिएको र आज शुक्रबारदेखि जडानको काम सुरू गरिएको बताए ।
रंगशालामा पोलहरू आइपुगे पनि एलइडी र जेनेरेटर भने पोल जडानपछि ल्याइने छ। फ्लडलाइटको लागि पोल, एलइडी, जेनेरेटर लगायतका सबै उपकरण एक महिनाभित्र जडान गरिसक्ने कुँवरले सुनाए । एक महिनाभित्र लाइट जडान र परीक्षण गरिसक्ने कम्पनीको तयारी रहेको बताउँदै उनले त्यसपछि फ्लडलाइट जडान भएकोएक्स्ट्राटेक ओभल पहिलो क्रिकेट मैदान हुने जानकारी दिए ।
यसअघि सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढाएको भए पनि फ्लडलाइट जडान हुन सकेको छैन। फ्लडलाइट जडान गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यासका लागि पनि सहज हुने कुँवरको भनाई छ ।
फ्लडलाइट नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने र लाइट पूर्णरूपमा जडान भएपछि डे नाइट म्याच खेलाउन सकिने छ। कुँवरका अनुसार निर्माणाधीन यो मैदानमा पछिल्लो ११ महिनाको अवधिमा एक सयभन्दा बढी प्रतियोगिता भइसकेका छन्।
नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले पनि यही मैदानमा अभ्यास गरेको र भारतबाट पनि केही क्लब स्तरीय टिमले यही रंगशालामा खेल्दै आएका छन्। रंगशालामा नेट प्राक्टिसका लागि समेत छुट्टै पिचको तयारी अन्तिम चरणमा पुगेको छ।
रंगशाला र क्रिकेट एकेडेमीका लागि आवश्यक भौतिक संरचना निर्माणको काम पनि तीव्र रूपमा भइरहेको छ भने अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रूम र मिडिया बक्ससहितका चार/चार तलाका २ वटा भवन बनिरहेका छन्। ती भवनको तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भएको खण्डमा भिआइपी बक्समा बसेरै खेल हेर्न सकिने अवस्थामा संरचना निर्माण भइसकेको जनाईएको छ ।
कुँवरका अनुसार यसैवर्ष ५ हजार क्षमताको प्यारापिट निर्माणको काम पनि अगाडि बढाउने तयारी गरिएको छ। कुल २५ हजार क्षमताको प्यारापिट बन्ने रंगशालामा अर्को वर्षसम्म १० हजार क्षमताको बन्नेछ। हरेक वर्ष ५ हजार क्षमताको प्यारापिट थप गर्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण गरिने कुँवरले बताए। आफ्नो उद्देश्य रंगशाला बनाउने मात्र नभई एकेडेमी सञ्चालन गरेर डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रियस्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उनको भनाई छ ।
यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् ।
प्रतिक्रिया