पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय राजधानीमा सन् २०२५ का लागि भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ।
महानगरपालिकाले आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी भएको हो। पोखरालाई गत वर्ष चैत्र ४ गते नेपालको पर्यटन राजधानी घोषणा गरिएको थियो ।
आज पोखरामा आयोजित बिशेष बैठकमा पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्ष घोषणाको लागि विभिन्न समिति र उपसमिति बनाएर तयारी तीव्र पारिएको बताए । हामीले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाका लागि एक हजार ५० सदस्यीय मूल समारोह समिति, तिन वटा समिति र ४३ वटा उपसमिति बनाएर तयारीलाई तीव्र पारेका छौ,’ मेयर आचार्यले भने, ‘मूल समारोह समितिको बैठक बसेर छलफल गरेका छौ, फागुन २९ गते पत्रकार सम्मेलन गरेर समिति र उपसमिति सार्वजनिक गर्ने छौँ ।’
कार्यपालिका सदस्यहरूको संयोजकत्वमा उपसमितिहरू निर्माण भएको उनले जानकारी दिए । मूल आयोजक समिति र निर्देशक समिति आफ्नै संयोजकत्वमा र कार्यसम्पादन समिति पर्यटन क्षेत्रका व्यक्तिको संयोजकत्वमा बनाइएको मेयर आचार्यले बताए । भ्रमण वर्ष घोषणाको लागि एक वर्ष अघि देखि तयारी थालिएको र सबैलाई साथमा लिएर सबैको सहयोग तथा समर्थनमा महानगर अगाडि बढेको उनले स्पष्ट पारे ।
‘हामी सबैको साथ र समर्थनमा ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्दै यसलाई सफल पार्न लागिपरेका छौ,’ मेयर आचार्यले भने, ‘नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल , पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका विशिष्ट व्यक्ति पोखरा महानगर र महानगर बासीहरूको उल्लासपूर्ण उपस्थितिमा पोखरा भ्रमण वर्ष घोषणा हुनेछ ।’
सरकार, सामाजिक संघ संस्था तथा व्यक्तित्व र निजी क्षेत्रको सहकार्यमा भ्रमण वर्ष सफल हुने र भ्रमण वर्ष भर आन्तरिक तथा बाह्य पर्यटक गरी २० लाख पर्यटक पोखरा भित्रिने मेयर आचार्यले दाबी गरे । अपेक्षित स्वदेशी तथा विदेशी पर्यटक पोखरा भित्र्याउनका लागि महानगरले विभिन्न प्याकेज बनाएर अघि बढ्ने उनले बताए ।
पर्यटनको राजधानी पोखराको यो आधार वर्ष भएको र भ्रमण वर्ष घोषणाले एउटा राम्रो आधार तयार गर्ने मेयर आचार्यको भनाइ छ । ‘पर्यटनको राजधानी पोखराको यो आधार वर्ष हो । भ्रमण वर्ष घोषणाले हामी कहाँ छौ र कहाँ जान पर्ने हो भन्ने कुरा प्राक्टिकल्ली देखाउन सहयोग पुर्याउछ यसर्थ सिङ्गै पोखरा संयमित भएर योजनाबद्ध तरिकाले भ्रमण वर्ष मनाउन लाग्न पर्छ,’ उनले भने ।
मेयर आचार्यले यस अवधिमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू पोखरामा आयोजना गरिने बताउँदै पोखरेलीहरू सहभागी हुने सबै केन्द्रीय स्तरका कार्यक्रमहरू समेत पोखरामा आयोजना गरिएको खण्डमा भ्रमण वर्षलाई थप मद्दत पुग्ने बताए ।
प्रतिक्रिया