काठमाडौँ । सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेकोसमेत बताए ।
उनले भने, “यस्तोखाले नियम कानून लागू भयोभने तपाईंहामी कसैले पनि आलोचना गर्न पाउनुहुने छैन । सरकारी सत्तामा रहेका मान्छेहरुको आलोचना गर्न पाउनुहुने छैन । कसैले सरकारको विषयमा लाइक गर्नुभयो भनेपनि पाँच वर्ष जेलमा बस्नुपर्ने छ । पाँच लाख भन्दा बढी धरौटी तिर्नुपर्ने छ । त्यसकारणले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाइन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको छ ।”
यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल विधेयक ल्याउने फुच्चे खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन् । उनले यो अधिनायकवादी विधेयक फूच्चे खेल हो भन्दै सबै दलहरुलाई बन्द गर्न चेतावनी समेत दिए ।
उनले भने, “जब जब सत्तामा आउनुहुन्छ, तब जनताको अधिकार कटौती गर्न खोज्नुहुन्छ । नागरिकको स्वतन्त्र अधिकारलाई विधेयकले खोस्न खोज्दैछ । गठबन्धनमा बसेका अरु राजनीतिक दलहरुलाई पनि म चेतावनी दिन चाहन्छु–तपाईंहरुको यस्तो अधिनायकवाद ल्याउने जुन फुच्चे खेल हो यो सफल हुनेवाला छैन् । तत्काल यो फिर्ता लिनुस् ।”
संघले आजको विरोध प्रदर्शनमा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका हुन् । सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया