मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ: डा.भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । 

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् ।

उनले भने, “नेपालमा रहेका हरेक समस्या ठिक ढंगले गर्नुपर्ने आवश्यक्ता छ । निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो  समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना विदेशिन बाध्य छन् । अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ ।”

त्यस्तै उनले अहिले तीनवटा टाउकाहरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए ।

‘मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन’

यसैगरी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताए ।उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे ।

उनले भने, “राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन । प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास चाहियो । काम नै गर्न सकेन् भन्ने बुझाइछ । खोई प्रधानमन्त्री बनाउन सकेको, खोई संसद्लाई नियन्त्रण गर्न सकेको, खोई कानुन बनाउन सकेको ? भन्ने प्रश्नहरु आउने गर्छन् । यसका लागि धैर्यता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीले धैर्यता राख्नुपर्छ, नेतृत्व वर्गमा पनि धैर्यता चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।”

सत्तासँग कुरा नमिल्दा अध्यक्ष पद नै गयो: रेशम चौधरी

यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरेपनि स्वीकृत नभएकोमा असन्तुष्टि जनाएका छन् ।

उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे । नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराएका छन् ।

उनले भने, “महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा । नाउपाले महाधिवेशन ग¥यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच–पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौं”, उनले भने, “आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । चिल गाडीबाट ओर्लिदा नओर्लिदै मेरो अध्यक्ष पद त गइसकेछ छन् ।”
 

प्रतिक्रिया