‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्नुपर्ने बताए । 

उनले भने, “सत्ता शक्ति प्राप्तीको अनावश्यक मोहले प्रक्रिया पद्दती र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छ । सूचना प्रविधिको तिव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको छ । भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ । त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्दै जानुपर्छ ।”

त्यस्तै उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने धारणा राखे । सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, “सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन । नागरिकको जीवस्तरमा गुणात्मक सुधारगरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार निष्पक्षता पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्छ । यसमा नीति पद्दती विधि र प्रवृति्तलाई सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो ।”

राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै भने, “यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।”

उनले सुशासन, सामाजिक न्याय र समृदि्धको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए । 

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राइले नागरिक सबै परिवर्तनको संवाहक र सरकार त्यसको नेतृत्वकर्ता भएको कारण नागरिक तहबाट आएको चासो र सरोकारलाई सम्बोधनगरी मूलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपालसरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । 

उनले भने, “नागरिक परिवर्तनको संवाहक हो भने सरकार नेतृत्वकर्ता हो । त्यसैले नागरिक तहबाट आएको नागरिक तहबाट आइरहेको चासो र सरोकारलाई सम्बोधनगरी मूलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपालसरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक छ । साथै आयोगले सुशासन प्रवद्र्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न रणनीतिकासाथ सकारात्मक पहल कदमी लिएको छ ।” 
 

प्रतिक्रिया